उर्लाबारी/भारतसँग सिमाना जोडिएको दक्षिणी मोरङको रतुवामाई नगरपालिकामा लकडाउनबाट प्रभावित बनेका ५ हजार १ सय ९६ घर परिवारलाई राहत वितरण सुरु गरिएकाे छ ।
नगर प्रमुख तथा नगर विपद् व्यवस्थापन कोषका संयोजक रवीन राईले नगरका सबै वडाबाट राहतका लागि सिफारिस भएर आएका विपन्न परिवारलाई सोमबार वडा नं.– ३ बाट राहत वितरण सुरु गरिएको बताए । सोमबार सो वडाका ५ सय २२ परिवारलाई राहत वितरण गरिएको र मंगलबार वडा नम्बर २ का ६ सय ३ बिपन्न घर परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख राईले बताए । राहतमा प्रति परिवार १५ केजी चामल एउटा सावुन र एक एक केजी नुन, तेल र दाल प्रदान गरियाे ।
नगरका सवै जनप्रतिनिधिहरूले १ महिनाको सेवा सुविधा वापतको ६ लाख ६३ हजार विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग संकलन सुरु गरिएको र हाल सम्म मोरङ क्षेत्र नं.–१ का संघीय सांसद् डा. मिनेन्द्र रिजालले ५० हजार र अन्य सहयोगीबाट प्राप्त जम्मा २१ लाख १९ हजार ७ सय ७९ रुपया नगद तथा १ लाख ५० हजार बराबरको खाध्यान्न प्राप्त भएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्र ठूलो भएका कारण र सहयोग जुटाउनेक्रममा केही ढिला भएको बताउँदै यसै साता भित्रमा विपन्न परिवारमा राहत उपलब्ध गराइने नगर प्रमुख राईले बताए ।