उदयपुर । कोरोना भाईरस (कोभिड–१९) को कारण इतिहासमा पहिलो पटक नयाँ वर्षमा उदयपुरका धार्मिक तथा पर्यटकीय स्थलहरू सुनसान बनेका छन् ।

नयाँ वर्षमा हर्षोउल्लासका साथ मेला लाग्ने जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरी, ताप्ली पोखरीलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरु सुनसान बनेका हुन् । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूमा परापूर्व कालदेखि नै प्रत्येक वैशाख १ गते लाग्दै आएको मेला यसवर्ष कोरोनाको संक्रमण जोखिमका कारण नलागेको हो । विश्वभर महामारीको रूपमा फैलिँदै गएको कोरोनाको संक्रमण नेपालमा पनि देखा परेपछि सरकारले देश लकडाउन गरेको छ ।

रौतामाई गाउँपालिका–६ स्थित रौता पोखरीमा तीन दिनसम्म लाग्ने नयाँ वर्षको पहिला नै गाउँपालिकाले सूचना जारी गर्दै मेला स्थगित गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । मेलामा कोरोनाको संक्रमण बढ्ने भएकाले सजगता अपनाउँदै मेला स्थगित गरेको उनले बताए ।

प्रत्येक नयाँ वर्षको मेलामा रौताको दर्शन गर्न र मेला भर्न आउनेको भीड लाग्ने गर्दथ्यो । तर कोरोनाको कारण यसपालिको नयाँ वर्षमा रौता सुनसान भएको स्थानीयहरूले बताए । रौता पोखरीको छुट्टै पहिचान रहेको छ । नयाँ वर्षको दिन बढी रौताको दर्शन गर्न छिमेकी जिल्लादेखि छिमेकी देश भारतबाट समेत आउने गर्दथे । उत्तरको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, चोयु, कुम्भकर्ण, मकालुलगायतका ८ हजारभन्दा अग्ला हिमशृङ्खला र दक्षिणमा रहेको समथर फाँटदेखि भारतका विभिन्न ठाउँ खाली आँखाले प्रत्यक्ष अवलोकन गर्न सकिने धार्मिक तथा पर्यटकीय स्थल रौता सुनसान भएको स्थानीय योगराज राईले बताए ।

वैशाख १ गते मेला भर्दै रौता पोखरीको भाकल गरेको भाकल बुझाउन बढी भक्तजनहरू आउने गर्दथे । रौताको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहि आएको स्थानीय बुढापाका बताउँछन् । ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा लाग्ने नयाँ वर्षको एक दिने मेलामा करिब ६ हजार भक्तजन सहभागी हुने गर्थे । कोरोना भाईरसको संक्रमणका यसअघिनै पालिकाले सूचना जारी गर्दै मेला स्थगित गरेको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

त्यस्तै ऐतिहासिक स्थल चौदण्डीगढी, उदयपुरगढी, मैनाराजा मैनारानी मन्दिर लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल नयाँ वर्षमा सुनसान भएको छ । प्रत्येक वर्षको वैशाख १ गते मेला लाग्ने पर्यटकीय स्थलहरूमा कोरोनाको कारण यसवर्ष मेला लाग्न नसकेको पालिकाहरूले जनाएको छ ।

‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन थप टेवा पु¥याउने लक्ष्यका साथ नयाँ वर्षमा पर्यटकीय स्थलहरूमा मेला महोत्सवको योजना बनाएको भए पनि कोरोना संक्रमणको कारण स्थगित गरिएको पालिकाहरूले जनाएको छ ।