यासोक/पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानी समस्या देखा पर्न थालेको छ ।

गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनामा विद्युतीय समस्या देखा पर्दा खानेपानीको अभाव देखा परेकोे हाे । खानेपानीको समस्याका कारण घण्टौं लगाएर पानी बोक्नु परेको स्थानीय गंगा चेम्जोङ बताउँछिन् । कुम्मायक ५ को बिजुवापानी डिपबोरिङमा समस्या देखा परेपछि खानेपानी समस्या देखा परेको छ । त्यस्तै तमोर खानेपानी योजना पनि अनियमित हुँदा ३ घण्टाको बाटो हिँडेर पानी बोक्नु परेको चेम्जोङको भनाइ छ ।

तमोर खानेपानी योजनाबाट सुख्खाक्षेत्रका ७० प्रतिशत नागरिकले तमोर लिफ्ट खानेपानीको उपभोग गर्दै आएका छन् । केही दिनअघि योजनाको ५ औं खानेपानी ट्याङकीको ट्रान्सफर्मरमा समस्या देखा परेको थियो । तर नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युतीय समस्या देखा पर्दा नियमित खानेपानी संचालन नहुँदा बजार क्षेत्रमा समस्या झन जटिल बनेको छ ।

बजार आसपासमा खानेपानीका श्रोत नहुदा समस्या देखा परेको बजारबासीको गुनासो छ । बजारमा देउराली खानेपानी, डिपबोरिङ खानेपानी योजना र तमोर लिफ्ट खानेपानी योजना नियमित संचालन नहुँदा लकडाउनको अवस्थमा समस्या भएको यासोक बजारका व्यवसायी अविशेक श्रेष्ठले बताए ।