धरान । धरान उपमहानगरको ‘कोरोना राहत कोष’ मा हालसम्म २९ लाख रुपैयाँभन्दा माथि रकम सङ्कलन भएको छ ।

पछिल्लो पटक वराह ग्रुपले ७ लाख ६० हजार रुपैयाँ सहयोग गरेसँगै कोषमा २९ लाख ६० हजार रुपैयाँ पुगेको हो । यसअघिसम्म २२ लाख रुपैयाँ कोषमा रकम जम्मा भएको थियो । उक्त रकम विपन्न तथा दैनिक ज्यालादारीमा जीविकोपार्जन गरिरहेका परिवारको खाद्यान्न लगायतमा खर्च गरिरहेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । लकडाउनका कारण दैनिक ज्यालादारी तथा विपन्न नागरिकहरूको दैनिक जीविकोपार्जनमै समस्या सुरु भएको छ । जसका कारण स्थानीय सरकारले चैत १९ गते कोरोना राहत कोष खडा गरेको थियो ।

कोषमा दैनिकजसो रकम सहयोग गर्दै आइरहेका छन् । यसअघि मितेरी विकास बैंकले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । हालसम्म सबैभन्दा बढी वराह ग्रुपले सहयोग गरेको हो । कोरोना राहत कोषमा सङ्कलन भएको रकम पनि विपन्न परिवारको दैनिक जीविकोपार्जनका लागि खर्च भइरहेको छ ।