धरान । नेपाल सरकारको कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वराह ग्रुपले १९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ग्रुपले धरान उपमहानगरको कोरोना राहत कोषमा कुल रकमको ४० प्रतिशत र नेपाल सरकारको कोषमा ६० प्रतिशत रकम सहयोग गरेको हो । वराहको धरान, काठमाडौं, चितवन, पोखरामा कार्यरत कर्मचारीहरूबाट सङ्कलन गरेर रकम प्रदान गरेको वराह ग्रुपका अध्यक्ष शिव लामिछानेले बताए । धरान उपमहानगरको राहत कोषमा ७ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारको कोषमा ११ लाख ४० हजार रुपैयाँ रकम प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक धरान उपमहानगरका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई अध्यक्ष लामिछानेले हस्तान्तरण गरे ।

उनले धरानबाटै सञ्चालनमा आएको वराहले गृह नगर भएको हिसाबले पनि विश्वमा चलिरहेको यो महामारीका बेला आफ्नो दायित्व सम्झेर रकम सहयोग गरिएको बताए । नगद रकम प्राप्त गरेपछि नगर प्रमुख राईले धन्यवाद दिँदै यो बेला सबैको दायित्व बन्ने बताए । उनले धरान उपमहानगरले पहिलो चरणमा राहत वितरण गरिसकेको बताउँदै कतिपय ठाउँबाट फेरि पनि मागहरू भइरहेको बताए । उनले नेपाल सरकारको कोषमा आफूहरूले बैंकमार्फत् जम्मा गरिदिने बताए ।

baraha_group