सिलिचोङ । लकडाउनको कारण खाद्यान्न अभाव भएका नागरिकहरुलाई संखुवासभाको सिलिचोङ गाउँपालिकाले राहत वितरण गरेको छ ।

दैनिक ज्याला मजदुरी गरेर खाने तथा आर्थिक स्थीती नाजुक भएकाहरुलाई गाउँपालिकाले बुधबारबाट राहत वितरण गर्न सुरु गरेको हो । बुधबार वडा नम्बर ३ ताम्कु र वडा नम्बर ५ याफुमा खाद्यन्न वितरण गरिएको थियो । वडा नम्बर ३ ताम्कुमा एक सय ३ परिवारलाई चामल, तेल र सावुन वितरण गरिएको वडा अध्यक्ष प्रतापसिं तामाङले जानकारी दिए । त्यस्तै, वडा नम्बर ५ याफुमा पनि चामल, दाल, तेल र सावुन वितरण गरिएको वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । याफुमा १८ परिवारलाई वितरण गरिएको छ ।

बिहिबार वडा नम्बर १ शिसुवाखोलामा वितरण गरिएको छ । वडाको केन्द्र चेप्चेवामा खाद्यान्न वितरण गरिएको हो । वडा नम्बर १ मा ९४ घरपरिवारलाई वितरण गरिएको वडाध्यक्ष अलाक्ष कुलुङले बताए । त्यस्तै वडा नम्बर ४ मांतेवामा पनि विहिबार नै वितरण गरिएको छ । मांतेवामा ८० परिवारलाई वितरण गरिएको छ । चामल, तेल र सावुन वितरण गरिएको वडाध्यक्ष देवेन्द्र वान्तवाले बताए । त्यस्तै वडा नम्बर २ मा शुक्रबार वितरण गरिने कार्यक्रम रहेको वडाध्यक्ष मोहन सम्सेर कुलुङले जानकारी दिए । वडा नम्बर २ मा १ सय तीन घरपरिवारलाई वितरण गरिने छ ।

गाउँ कार्यपालिकाको बैठकले प्रति परिवार दश किलोग्राम चामल प्रदान गर्ने निर्णय गरेपनि माथिल्लो निकायबाट ३० किलो ग्रामसम्म चामल वितरण गर्न सक्ने कार्यविधि पठाएपछि ३० किलोग्राम नै चामल दिईएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । अन्य वडाहरुमा पनि तत्काल राहत वितरण गरिने अध्यक्ष कुलुङको भनाई छ । उन्ले सबै नागरिकलाई लक डाउनको पालना गर्न समेत सुझाएका छन् ।