धरान । धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी विकास बैंकले धरान उपमहानगरको ‘कोरोना राहत कोष’ मा २ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश सरकारको राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको एक सातापछि नै धरानको कोषमा पनि सहयोग गरेको हो । बैंकले २ लाख रुपैयाँ बराबरको चेक धरान उपमहानगरका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरे । बैंकका अध्यक्ष किशन मास्के, सञ्चालक समितिद्वय सरोज श्रेष्ठ र सुनिल श्रेष्ठ साथै बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणको क्रममा अध्यक्ष मास्केले भने, ‘सहयोग रकम यो नै अन्तिम होइन, थप क्रिटिकल स्थिति सिर्जना भएमा थप रकम पनि सहयोग गर्न सकिन्छ ।’
धरान उपमहानगरका प्रमुख राईले बैंक परिवारलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको राहत कोषको रकम लक्षित वर्गमै पुग्ने बताए । कोषको रकम लक्षित वर्गमा नपुगेको नगरबासीहरूको संशयप्रति उनले भने, ‘तपाईंहरूले उठाउनु भएको कुरा एकदमै गम्भीर हो, यसमा हामी पनि गम्भीर छौं, लक्षित वर्गमै यो रकम पुग्नेछ । त्यसमा हामी प्रतिवद्धता जनाउन चाहन्छौं ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत वस्तीले बिहीबार कोषमा व्यक्तिगततर्फबाट १ लाख २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । मितेरी बैंकबाहेक हालसम्म १९ लाख ७६ हजार ४६ रुपैयाँ कोषमा रकम सङ्कलन भइसकेको सूचना अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । सहयोग रकम आउनेक्रम जारी रहेको छ । कोषको रकम लक्षित वर्गलाई वितरण गरिँदै आएको छ ।