पथरीशनिश्चरे/कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङ विराटनगरस्थित नोबेल अस्पतालका सञ्चालक सुनीलकुमार शर्माले जिल्लाको उत्तरपूर्वी क्षेत्रका ३ नगरपालिकाको राहत कोषका लागि ३० लाख बढीको आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनु भएका शर्माले विहीवार बेलबारीमा आयोजित कार्यक्रममा बेलबारीलाई ११ लाख ७५ हजार, पथरीशनिश्चरेलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचालाई ८ लाख ७५ हजार रुपैयाँ गरी कुल ३० लाख ३६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसकातर्फबाट प्रदेश सभासदस्य शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला, कांग्रेस नेता वसन्त भट्टराई सहितको उपस्थितीमा रकम हस्तान्तरण भएको कांग्रेस मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का सभापति गणेश खड्काले जनाए ।

यसैबीच, पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समितिमा हालसम्म १८ लाख ६७ हजार १ सय १७ रुपैयाँ जम्मा भएको छ ।

जसमा, प्याव्सनमा आवद्धमध्ये २० वटा संस्थागत विद्यालयबाट ५ लाख ५४ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये बाल्मिकी स्कुलले १ लाख २ हजार, एभरेष्ट स्कुलले १ लाख प्रदान गरेको छ । विद्यालय, शिक्षक र कर्मचारीबाट समेत गरी सो रकम जम्मा भएको प्याव्सनका नगर अध्यक्ष उपेन्द्र कँडेलले जनाए । उता, एनप्याव्सनमा आवद्ध संस्थागत विद्यालयहरुबाट ४० हजार जम्मा भएको छ । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले १ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गरेपछि संकलनको अभियान अघि बढेको थियो ।

४ हजार ३ सय बढी परिवारलाई राहत

कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि पथरी शनिश्चरे नगरपालिकाले १० वटा वडामा ४ हजार ३ सय बढीलाई राहत वितरण सम्पन्न गरेको छ

स्वास्थ्य सतर्कताका साथ सामाजिक दुरी कायम गरी साबुनपानीले हात धुन लगाइ सेनिटाइजर लगाइदिएर ‘कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति’, राहत व्यवस्थापन तथा वितरण समिति र वडास्तरीय समिति मार्फत राहत वितरण गरिएको हो ।

नम्वर १ मा १ हजार १ सय २८, २ मा ४ सय ३०, ३ मा २ सय २३, ४ मा २ सय ९६, ५ मा ५ सय ५९, ६ मा ५ सय ६९, ७ मा १ सय ४७, ८ मा २ सय २२, ९ मा १ सय ८६ र १० मा ५ सय ८२ घर परिवारलाई राहत वितरण गरिएको छ । नगरमा राहत पाउनेको कुल संख्या ४ हजार ३ सय ४२ रहेको राहत व्यवस्थापन तथा वितरण समितिले जनाएको छ ।

२ जनासम्मको परिवारलाई प्रति परिवार १२ केजी चामल, २ भन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल तथा सवैका लागि प्रति परिवार २ केजी दाल, १ केजी नून, १ लिटर खानेतेल र २ वटा साबुन राहतका रुपमा वितरण भएको छ ।