इनरुवा । सुनसरीमा ३ सय ९३ जना पछिल्लो एक महिनामा भारतबट भित्रिएका छन् ।
कोरोनाको त्रासका कारण सुनसरी भित्रिनेहरु सबै रोजगारीका क्रममा भारतमा रहेका नेपाली भएको सुनसरी प्रशासनले जनाएको छ । यसैगरी तेस्रो मुलुकबाट पछिल्लो एक महिनायता १७ जना जिल्ला फर्किएको सुनसरी प्रशासनले जनाएको छ ।

कुल ४ सय १० जना सुनसरी भित्रिएकोमा २ सय ५२ जना होम क्वारेन्टाइनमा रहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारतको मुस्लिम कार्यक्रमबाट फर्किएका सहित १४ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।

जिल्लाबाट नियन्त्रणमा लिइएको भनिएका केही पाकिस्तानी नागरिकको सम्वन्धमा बाहिरिएको हल्लामा भने कुनै सत्यता नरहेको प्रशासनले स्पष्ट पारेको छ ।प्रजिअ पौडेलका अनुसार सप्तरीको मुस्लिम सभाताका सहभागि हुन आएका केही पाकिस्तानी नागरिक त्यसयता यतै रहेको र उनीहरु सबैको अवस्था समेत सामान्य रहेको छ ।

सुनसरी प्रशासनले उपलब्ध गराएको विवरण अनुसार पछिल्लो अवस्था सम्ममा कोरोना भाइरसको आशंकामा ४० जनाको स्वाब टेस्ट गरिएको छ । जसमध्ये ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।