धरान । धरानको मितेरी विकास बैंकले प्रदेश १ स्तरीय कोरोना रोकथाम कोषमा आर्थिक सहयोग गरेको छ ।

शुक्रबार बैंकका अध्यक्ष किसन मास्के र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीसहितको टोली पुगेर कोरोना रोकथामका लागि प्रदेश स्तरीय कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महामारीको यो अवस्थालाई मध्यनजर गर्दै रकम सहयोग गरेको कार्यकारी अधिकृत वस्तीले जानकारी दिए ।

उनका अनुसार बैंकका अध्यक्ष मास्केले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । कोरोनाको महामारीलाई लक्षित गर्दै अहिले कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले रकम सहयोग गर्दै आइरहेका छन् । धरानबाट सञ्चालनमा आएको बैंकका प्रदेशका विभिन्न स्थानमा शाखा सञ्चालनमा रहेको छ ।

गएको दुई साताअघि मात्रै वार्षिकोत्सव मनाएको बैंकले गएको आर्थिक वर्षमा १४ करोडभन्दा बढी खुद मुनाफा गर्न सफल भएको थियो । बैंकले पूर्वका विभिन्न स्थानमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसपटक कोरोनाका कारण लकडाउन भएपछि बैंकले छात्रवृत्ति दिने कार्यक्रम स्थगन गरे पनि केही समयपछि वितरण गर्ने तयारीमा रहेको बैंकले जनाएको छ ।