पथरी/मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न तथा मजदुर गरेर बिहान बेलुकी छाक टार्ने १ हजार १० घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।
कानेपोखरी गाउँपालिका अध्यक्ष तारबहादुर काफ्लेको अध्यक्षतामा विभिन्न पार्टी प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको हो । प्रत्येक परिवारले २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, १ थान हात धुने साबुन र १ केजी दाल उपलब्ध गराउने भएकाे छ । वडा नं. ७ बाट राहत वितरण गरिने वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए । गाउँपालिकाले अघि ७ वटै वडाकार्यालयहरूलाई दैनिक ज्यालादारीमा मजदुरी गरेर विहान बेलुकी छाक टार्ने व्यक्तिहरूको पहिचान गरी नामावली गाउँपालिका पठाउन निर्देशन गरेका थिए । सोही अनुरूप प्रत्येक वडाबाट नामवली पालिका आएपछि मंगलबार बैठक बसी नामवली तयार, राहत कसरी वितरण गर्ने, कतिकति वितरण गर्ने भन्ने बारेमा टुङ्गो लगाएको राहत वितरण समितिका सदस्य भोला अधिकारीले बताए ।
वडा नं. १ मा ८० जना, २ मा २२५ जना, ३ मा १७५ जना, ४ मा १०० जना, ५ मा २५० जना, ६ मा १०० जना र ७ मा ८० जना गरी जम्मा १०१० जनालाई राहत वितरण गर्ने भएको छ । त्यसैगरी वडा नं. ७ ले वडाका थप ४१ जनालाई राहत वितरण गर्ने भएको छ । विपन्न तथा दैनिक ज्यालादारीमा मजदुर गरेर खानेलाई एक परिवारमा १ जना र दुई जना मात्र भएको पहिचान गरी प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ थान साबुन दिइने निर्णय गरेको वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।
जनमुखी साकोसले २५ हजार र जनसम्पर्क साकोस, मातृभूमि कृषि सहकारी, दीगोपन सामाजिक उद्यम संस्थाहरूले १० हजारको दरले राहत वितरणको लागि आर्थिक सहयोग गर्ने भएपछि थप ४१ जनालाई राहत प्याकेज अघि बढाएको अध्यक्ष अधिकारीले बताए । पालिकाको अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षता, उपाध्यक्ष राजमती इङ्नाम, सदस्यहरू नेकपाबाट भोला अधिकारी, नेकाबाट योगेन्द्र दाहाल, पालिकाको प्रशासन फाँटबाट गोविन्द फुँयल, रमाइलो व्यापार संघबाट डिल्ली फुँयल र रमाइलो प्रहरी चौकीबाट सुमन श्रेष्ठ रहेको राहत व्यवस्थापन समिति गठन गरेको छ ।
पालिकाले प्रत्येक वडामा मंगलबार नै दुई दलका प्रतिनिधि, वडाध्यक्ष, वडासदस्य, प्रहरी, व्यापार संघ, बजार व्यवस्थापन समितिका प्रतिनिधि रहने गरी राहत व्यावस्थापन समिति गठन गर्न निर्देशन दिएपछि ७ वटै वडाले समिति गठन गरिसकेको छ ।