वराहक्षेत्र/लकडाउनले दैनिक ज्यालादारी मजदुरी गर्ने परिवारको जीविकोपार्जनमा समस्या उत्पन्न भएको निष्कर्षससहित वराहक्षेत्र नगरपालिकाले एकद्वारा प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार नगरपालिकाका प्रमुख निलम खनालको संयोजकत्वमा बसेको सर्वदलीय भेलाले विपन्न परिवारलाई एकद्वार नीतिमार्फत् राहत उपलब्ध गराउने भएको हो । राहत उपलब्ध गराउने कोषमा समाजिक विकास शाखा प्रमुख अरुणकुमार महतो तथा लेखा शाखा अधिृकत वीरेन्द्र यादवको संयुक्त हस्ताक्षरमा रहने गरी माछापुच्छ्रे बैंकमा प्रकोप व्यवस्थापन राहत कोष स्थापना गर्ने भएको हो ।
भेलाले वैदेशिक रोजगारीमा गएका र कोरोना संक्रमण फैलिएसंगै स्वदेश आएका नगरवासीको लगत संकलन गरी उनीहरूको स्वास्थ्य जाँचको व्यवस्था मिलाउने भएको छ । शंका लागेका बिरामीलाई वराहक्षेत्र नगर अस्पतालका चिकित्सकको सिफारिसमा क्वारेन्टाइनमा पठाइने निर्णय समेत गरिएको नगरका आइटी अफिसर पुकार पोखरेलले फेसबुकमा जानकारी गराएका छन् ।
नगरक्षेत्रको कालाबन्जारको जडेज र चतराको आदर्श माविमा २१ बेडको क्वारेन्टाइन हाउस निर्माण गरिने निर्णय गरिएको छ । यसै गरी दैनिक अति आवश्यक दूध, तरकारी, रासन, फलफूलको आयात तथा निर्यातको व्यवस्था मिलाइने र स्थानीय महेन्द्रनगर र चतरा उद्योग वाणिज्य संघसँग समन्वय गरी कृषकलाई बिउ, बीजन, मल र कीटनाशक औषधिको आपूर्तिलाई सहज बनाइँने भएको छ ।
लकडाउनको समयमा दैनिक उपभोग्य खाद्यसामाग्रीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई नियन्त्रणमा गर्न वडाध्यक्ष र सोको अनुगमन नगर प्रमुखको संयोजकत्वको समितिले गर्ने भेलाले निर्णय गरेको छ । यसै गरी स्थानीय आश्रमहरूमा स्वास्थ्यकर्मी पठाई ज्येष्ठ नागरिकहरूकोे स्वास्थ्य जाँच गर्ने तथा आवश्यक राहत उपलब्ध गराउनेजस्ता विभिन्न ९ वटा निर्णय भेलाले पास गरेको बताइएको छ ।