मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–८ तोरिबारीमा चार फिट दूरीमा लाइन कायम गरेर उच्च स्वास्थ्य सर्तकता अपनाउँदै शनिबारबाट दूध सङ्कलन गर्न थालिएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आह्वान गरेपछि यस क्षेत्रका किसानहरूले दूध बिक्री गर्न पाएका थिएनन् । तोरिबारी लघु उद्यमी कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको दूध खेर जान थालेपछि सम्भावित संक्रमणबाट पूर्ण सावधानीका साथ दूध संकलन कार्यलाई निरन्तरता दिएका हो ।
त्यसका लागि सहकारीले एक व्यक्तिबाट अर्को व्यक्तिबीचको दूरी ४ फिट दूरी कायम गरिएको छ । सहकारीले सडकमा चुना राखेर उभिने ठाउँ तोकिएको छ । लाइन मिलाउन सहकारीका पदाधिकारीहरू पञ्जा र मास्क लगाएर खटिएको सहकारीका अध्यक्ष रमेश बस्नेतले बताए ।
पहिलो दिन करिब ५०० लिटर दूध संकलन भएको र क्रमशः संकलन बढ्दै जाने बस्नेतले बताए । सहकारीले दैनिक एकहजार पाँचसय लिटर दूध संकलन गर्दै आएको छ ।