भण्टाबारी । कालोबजारी गर्दै उपभोक्ता ठग्ने पसल संचालकलाई कारबाही गर्न सुनसरी प्रशासन मौन देखिएको छ । सुनसरीको कोशी गाउँपालीका ८ भण्टाबारीमा कालोबजारी गर्ने एकजना पसल संचालकलाई कारबाही गर्न सुनसरी प्रशासन मौन देखिएको हो । 
 
सरकारले गरेको लकडाउनको अवसरमा १०५० पर्ने चामलको १५ सय रुपैयाँमा बेच्ने कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीस्थित रहेको विवेक किराना पसलका संचालकलाई कारबाही गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई स्थानीयले आग्रह गरेपनि उनले चासो लिएको छैन । भण्टाबारीस्थित रहेको विवेक किराना पसलका संचालकले लकडाउनको अवसरमा स्थानीय मस्तकिम मियालाई १०५० पर्ने एलएनटी उसिना चामलको १५ सय रुपैयाँमा बेचेका थिए । उक्त पसल संचालकले ७० रुपैयाँ केजी पर्ने चिनीको ९० रुपैयाँ बेच्ने गरेको स्थानीयले गुनासो गरेका छन् । साथै अन्य किराना समान समेत मनपरि गरी आफूखुसी बेच्ने गरेको उनीहरूको भनाइ छ । 
 
बजार मूल्य भन्दा ४५० रुपैयाँ बढी लिएर चामल बेचेको पाइएपछि स्थानीयले सीमा प्रहरी चौकी भण्टाबारीका सई कुलबहादुर खत्रीलाई जानकारी गराएपनि उनले चासो लिएनन् । सई खत्रीले दुवै पक्षलाई भोलि वार्ड कार्यालयमा उपस्थित गराएर छलफल गराइदिने भनेपछि स्थानीय आक्रोशित बनेका थिए । पटकपटक कालोबजारी गर्नेलाई कानुनबमोजिम कारबाही गर्न स्थानीयले सई खत्रीलाई आग्रह गरेपनि कारबाही गर्ने मेरो काम होइन तपाईंहरु आ आफ्नो काम गर्नुस् भन्दै गैरजिम्मेवारीपन देखाए । 
 
त्यसपछि घटनास्थल आएको बिओपी भण्टाबारीबाट इन्स्पेक्टर प्रेमसिंह विष्टको टोलिले जिल्लामा जाहेर गरेपछि पसल संचालक गुरुदेव रामलाई सीमा प्रहरी चौकी भण्टाबारीले नियन्त्रणमा लिएको थियो । कालोबजारी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएपनि प्रहरीको काम होइन वार्ड कार्यालयमा भोलि दुई पक्ष छलफल गर्नु भन्दै कोशी गाउँपालीका वार्ड नम्बर ८ का वार्डध्यक्ष विन्देश्वर प्रसाद यादवको रोहवरमा पसल संचालक गुरुदेवलाई बुधबार साझ नै छाडियो । यसबारे सुनसरी प्रमुख जिल्ला अधिकारी पौडेलसँगै प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेललाई खबर गराइएपनि कुनै सुनुवाइ नभएको स्थानीय तजमुल मंसुरीले गुनासो गरे ।
 
लकडाउनमा बजारमा मूल्य भन्दाबढी रुपैयाँ लिएर उपभोक्ता ठग्ने पसल संचालकलाई कारबाही गर्नुको साटो प्रहरी प्रशासनले संरक्षण दिएको स्थानीयले गुनासो गरेका छन् । जितेन्द्र चामल लघु उद्योग दुहबी सुनसरीबाट उत्पादित एलएनटी उसिना चामलको बजार मुल्य ११ सय भएको उक्त उद्योगका संचालक लक्ष्मीनारायण तपरियाले जानकारी दिए । संचारकर्मीले बुधबार राति नै सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई जानकारी गराएपनि उनले कालोबजारी गर्ने र उनलाई संरक्षण दिने सई कुलबहादुर खत्रीलाई कारबाही गर्न तदारुकता देखाएनन् । यसबारे प्रतिक्रिया लिन प्रजिअ पौडेल र सुनसरी प्रहरी प्रमुख यज्ञबिनोद पोखरेललाई पटकपटक फोन सम्पर्क र म्यासेज गरेपनि कुनै प्रतिक्रिया आएनन् ।