ताप्लेजुङ/ चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचान मानिन्छ । पर्यटनको आधारसमेत रहेको चौंरीपालन व्यावसायिक नहुँदा चौरीपालक किसान पलायन हुँदैछन् भने पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।
वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै पलायन भएपछि ताप्लेजुङमा पुस्तौंदेखि चल्दै आएको चौंरी पालनको पेशा लोप हुने अवस्थामा पुगेको हो । पहिले पहिले कञ्चनजङ्घा पदमार्गको फलेदेखि आधार शिविरसम्मै चौंरीका गोठ हुन्थे । अहिले गोठ भत्किएका छन् भने घुन्सामा होटल र घर बन्ने क्रम बढेको छ ।
पहिले जताततै देखिने चौंरी अहिले देख्न मुस्किल पर्छ । ‘पहिले पहिले हाम्रोतिर प्रत्येक घरमा गोठ पाल्ने चलन थियो ।’ स्थानीय गोठपालक तेञ्जिङ शेर्पाले भने ‘अहिले सबैले गोठ मासेर सदरमुकाम तिर लागे ।’ एक हप्ताभित्रमा ७ वटा याक ब्वाँसोले खाइदिएपछि आजित बनेका घुन्सा ताप्लेजुङका चुङ्दाक शेर्पाले गत वर्ष १९ वटा याकसहितको गोठ बेचिसकेका छन् । जङ्गली जनावरले दुख दिएपछि उनी पुख्र्यौली पेसा छोड्न बाध्य बनेका हुन् । तिब्बतियन ब्वाँसोले गोठ र चरनमा पुगेर चौरी खाइदिने किसानको गुनासो छ । ‘सबैभन्दा धेरै त जङ्गली जनावरले दुःख दिन्छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट जनावर आउँछन् क्षतिपूर्तिको व्यवस्था पनि छैन ।’ चौँरीपालक किसान पेम्बा शेर्पाले भने । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने यहाँ हिउँ चितुवाले पनि त्यत्तिकै दुःख दिने गरेको छ । संरक्षण क्षेत्रले हिउँ चितुवाले क्षति गरेमा बिमाबापत ८ हजार रुपैयाँ दिन्छ । तर, ब्वाँसोले पु¥याखएको क्षतिमा बिमाको सुविधा छैन ।
पशु बिरामी भए आफैंले झारफुक र जानेको जडीबुटीको प्रयोग गर्छन् । सरकारले दिने अनुदान र औषधि कस्तो हुन्छ, यहाँका किसानलाई अहिलेसम्म थाहा छैन । तिब्बतमा अहिले नेपाली पशु आयातमा रोक लगाइएको छ । खुलेपछि बिक्री गर्ने आशामा रहेका घुन्साका तेञ्जिङ शेर्पा पशुपालन पेशा जोगाउन सरकारले केही गर्नै पर्ने बताउँछन् ।
गाउँपालिकाले भने आवश्यक सहयोग गरिरहेको दाबी गरेको छ । मङ्सिरदेखि फागुनसम्मको जाडोमा चौंरी बेंसीमा झारिन्छ । पदमार्गमै गोठ भएकाले पर्यटकहरू पनि चौंरीसँग रमाएका देखिन्छन् । चौंरीपालनमा खासै चासो नराखे पनि उनीहरू फोटो खिच्नैकै लागि पनि दुहुन रहर गर्छन् । यहाँको पर्यटन प्रवद्र्धन गर्नका लागि पनि चौंरीपालन लगायतको पशुपालन व्यवसायलाई जोगाउन आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन् ।