दमक/ इलामको चुलाचुली गाउँपालिका–६ को फुङ्नामको शिरबाट ढुङ्गा–माटो झरिरहन्छ । मावा नदीमा झरेका ढुङ्गा–माटो सरकारले नै ठेक्का लगाएर दोहन गर्छ । यही दोहनका कारण चुरेमा बर्सेनि पहिरो गइरहेको छ ।

चुलाचुली गाउँपालिका–६ स्थित लुकुवाबाट शुरु भएको पहिरोले यो क्षेत्रको चुरे नै सखाप हुने अवस्थामा पुगेको छ । हाल पहिरो गएको भीरमाथि २६ वर्ष पहिलासम्म ठूलो बस्ती नै थियो ।

तलबाट क्रमशः पहिरोले तान्दै अहिले डाँडाको शिरमा नै आइपुगेको छ । चुरेको तल्लोभेग मावा खोलामा नदीजन्य वस्तु अत्यधिक दोहन भएका कारण तलबाट कटान हँुदै गएको हो । तराईमा नदीजन्य वस्तु ठेक्का लगाएर ठूला–ठूला क्रसर उद्योग सञ्चालन गरिएका कारण चुरेको पहिरो बढ्दै गएको स्थानीयको बुझाइ छ ।

पहिरोका कारण यो क्षेत्रबाट विस्थापित भएका ८३ वर्षीय नैनरबहादुर तिम्सिना भन्छन्, ‘यहाँ मेरो घरसहित साढे १२ रोपनी बारी थियो । पहिरो यहाँ आउला जस्तो थिएन धेरै तल मावा खोलामा अलि–अलि पहिरो गएको देखिन्थ्यो, केही वर्षमै पहिरोले तान्दै आयो ।’

२०६० सालतिर पहिरोले यो गाउँका १५ घरपरिवार सबैको बास उठाएको तिम्सिनाले सुनाए । उनका अनुसार यो क्षेत्रमा पहिरो गएपछि कुलबहादुर राई, चन्द्र तामाङ, टङ्क श्रेष्ठ, अशोक श्रेष्ठ, बिन्दु श्रेष्ठ, पृथ्वीमान श्रेष्ठ, इन्द्रबहादुर राईलगायतको परिवार विस्थापित भएका थिए ।

‘आफ्ना बाबुबाजेले अंशमा दिएको पैसाले खरिद गरेको घरबारी नै पहिरोले लग्यो । काम गरिखाने खेत बगाएपछि छोराछोरी पढाउने पाल्ने केही रहेन । बौलाउनु जस्तै भयो’ तिम्सिनाले आँशु पुछ्दै पीडा सुनाए, ‘घरखेत पहिरोले लगेर सुकुम्बासी भएपछि मर्न मन लागेको थियो । छोराछोरीको मायाले सकिनँ ।’

३० वर्ष अघिसम्म ठूलो गाउँ नै रहेको यो क्षेत्रमा अहिले पहिरो मात्र देख्न सकिन्छ । यहाँबाट शुरु भएको पहिरो मावा खोला हुँदै पेरुङ्गे, फुइँके, दमक नगरपालिकाको पश्चिम र मोरङको पूर्र्वी सीमाक्षेत्रको भाग हुँदै मावाखोलाको दायाँ –बायाँको भागसमेत कटान हुँदै गएको जनाइएको छ । यो पहिरो नियन्त्रण गर्न नसकेमा यसले चाँडै साक्फारा गाउँ नै समाप्त हुनसक्ने लुकुवा पहिरो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष ढिकबहादुर राई बताउँछन् ।

कमेरे, बलौटे, पाँगो माटोले बनेको चुरेमा चैतमा ठूलो हुरी चल्दासमेत भूक्षय हुने गरेको छ । त्यस्तै वर्षायाममा सानो पानी पर्नासाथ पहिरो जान्छ । यसका कारण आसपासमा पानीका मूल सुक्ने देखि महŒवपूर्ण रुखबिरुवासमेत मासिँदै गएका छन् ।
पछिल्लो समय स्थानीय तह गठन भएपछि तराईमा विकास निर्माणका लागि झापा र मोरङ जिल्लाको सीमाक्षेत्रमा पर्ने मावा खोलाको नदीजन्य वस्तु बालुवा, गिट्टी र ढुङ्गा उत्खनन्मा करोडौँको ठेक्का लगाइँदै आएको छ । जसका कारण नदीको सतह गहिरो भएर चुरेमा पहिरो गएको स्थानीयको आरोप छ ।

पहिरो नियन्त्रणमा ठूलै प्रयास नभए पूरै गाउँ जोखिममा छ । गाउँबाट पहिरो अहिले करिब तीनसय मिटर नजिक पुगिसकेको समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए । पछिल्लो समय पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे, तराई, मधेस संरक्षण प्रदेश १ को कार्यालय सलकपुरमार्फत् केही कामसमेत भएको छ । पहिलोपटक गत आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेटसमेत विनियोजन भएको थियो । पहिरोको फेदमा जगका लागि लगाइएको तारजाली केही दिनमै पहिरोले ५० प्रतिशत बगाएर लगेको थियो ।

नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको होचो र कान्छो पर्वत भनेरसमेत चुरे पर्वतलाई चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लाहरूमा फैलिएको चुरेले कुल भू–भागको १२.७८ प्रतिशत भू–भाग ओगटेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण प्रदेश १ को कार्यालयका प्रमुख भीमप्रसाद कालीकोटेले बताए । अहिलेसम्म यो पहिरोले हजारौँ रोपनी जग्गा बगाएको छ । पहिरोले दक्षिणी भेगका इलाम, झापा र मोरङका हजारौँ घरपरिवारसमेत विस्थापित भएका छन् ।