भद्रपुर/ सौर्य तारबारले पनि जङ्गली हात्ती नियन्त्रण नहुँदा साविक घेराबारी गाविस–२ हाल कचनकवल–१ कुटी नजिकै गाउँका कृषक अहिले पीडामा छन् ।

त्यहाँका कृषकले करिब १० बिघामा लगाएको दाना पलाएको पाक्नै लागेको मकै खेती जङ्गली हात्तीले नष्ट गरिदिएको छ । हात्तीले करिब ५ लाख बढीको खेती नष्ट गरिदिएको स्थानीय कृषकहरूको भनाइ छ । भारतसँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको थियो ।

लगातार तीन रात जङ्गलबाट आहारको खोजीमा निस्किएका हात्तीले स्थानीय धनीलाल यादव, नारायणसिंह राजवंशी, अचालु यादव, देवलाल यादव र वासुदेव राजवंशीको मकै खेती नष्ट गरिदिएको छ । बिहीबार राती दुई , शुक्रबार राती आठ र शनिबार राती पनि सात वटा हात्ती आएर मकै खेती नष्ट गरिदिएको कृषक देवलालले बताए ।

साहुबाट ऋण लिएर ६ बिघामा मकै खेती लगाएको उनले बताए । हात्तीले सबै नष्ट गरिदियो, अब परिवार पाल्ने र साहुको ऋण चुक्ता गर्ने कुनै उपाय नभएको उनले गुनासो गरे । गाउँघरमा रातको समयमा हात्ती आउँदा आफ्नो परिवार बचाउनु कि खेती जोगाउनु, कृषक नारायणसिंह राजवंशीले भने । सौर्य तारबारले हात्ती नियन्त्रण भन्दा पनि झन् गाउँमा आतङ्क मच्चाउन थालेको उनले बताए ।

यहाँका स्थानीयको प्रमुख पेसा नै कृषि भए पनि राज्यले लगानी नगरेको प्रति पीडित कृषको गुनासो छ । गाउँमा दिनहुँ जसो हात्तीले क्षति पु¥याउँदै आए पनि तीन तहका सरकारका जनप्रतिनिधि क्षति भएको हेर्न नआएको उनीहरूको गुनासो छ । हात्तीले गाउँमा लगाएको मकै खेती नष्ट गरिदिएको देख्दा दुःख लागेको स्थानीय नवराज भट्टराई बताउँछन् । क्षतिको विवरण सङ्कलन गरेर राज्यले पीडामा रहेका कृषकलाई तत्काल क्षतिपूर्ति दिलाउनु पर्ने उनको माग छ ।

कचनकवलको दुर्गाभिट्टा सामुदायिक वनदेखि जलथल हुँदै भद्रपुरको विशाल सामुदायिक वनसम्मको ३७ किलोमिटरसम्म हात्ती नियन्त्रणका लागि तारबार लगाइसकेको भए पनि प्रभावकारी नदेखिएकाले जबसम्म हात्तीका लागि जङ्गलभित्रै आहारको व्यवस्थापन हुँदैन तबसम्म गाउँवासी सवै क्षेत्रबाट पीडित हुने स्थानीयहरूको धारणा छ ।