विराटनगर / प्रथम मेयर कप १ नं. प्रदेश स्तरीय ताइकाण्डाे प्रतियोगिताको उपाधि झापाले जितेको छ । मोरङको बेलबारी नगरपालिका ७ बाहुनीमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा १३ स्वर्णसहित झापाले उपाधि जितेको हो ।

आइटिएफ तेक्वाण्डो संघ १ नम्बर प्रदेशले आयोजना गरेको प्रतियोगितामा ७ स्वर्णसहित भोजपुर द्धितीय भयो । यस्तै ६ स्वर्णसहित भोजपुर तृतीय घोषित भएको नेपाल आइटिएफ तेक्वाण्डो संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मार्सल गेम्स महासंघको अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, भोजपुर, उदयपुर र आयोजक मोरङको बेलवारी नगरपालिकाका गरी ६० महिला सहित १ सय ८४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक तथा आइटिएफ तेक्वाण्डो महासंघका केन्द्रीय सदस्य चतुरलाल चौधरीले जानकारी दिए ।

समापन समारोहमा बोल्दै प्रदेश १ का  उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकता राखेको बताए । खेलकुदबाट देश र खेलाडी विश्वसम्म चिन्न थालेकोले यो क्षेत्रपनि पेशाको रूपमा विकास हुदै गएको उनले बताए ।

‘अहिले खेलकुद क्षेत्र पनि व्यवसायिक हुन थालेको छ,’ उनले भने, ‘यी क्षेत्रमा लागेर पनि जीविको पार्जन हुन थालेको छ ।’ उनले खेलकुद क्षेत्रलाई व्यवसायिक रूपमा अगाडी बढाउन प्रदेश सरकारले यस क्षेत्रमा पनि लगानी गरेर अगाडी बढने बताए ।  कार्यक्रममा बोल्दै नेपाल आइटिएफ तेक्वाण्डो संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय मार्सल गेम्स महासंघको अध्यक्ष प्रविण कुमार कार्कीले खेलजगले राष्ट्रको नाम विश्वसम्म चिनाउने भएकोले खेलकुद क्षेत्रमा राज्यले लगानी गरिनुपर्ने बताए ।

विजयी हुने खेलाडीहरूलाई राज्यमन्त्री विश्वास, बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुली, वरिष्ठ उपाध्यक्ष अन्जनाथ श्रेष्ठ, कार्यक्रम संयोजक चतुरलाल चौधरी, लगायतले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।