यासोक / पाँचथरको कुम्मायक गाउँपालिकाका नागरिकले लामो समयदेखिको खानेपानीको समस्याबाट मुक्ति पाएका छन् । खानेपानीको समस्या समाधान गर्न एक दशकदेखि कठिन सङ्घर्ष गर्दै आएका काकाकुल कुम्मायकवासीको सपना पूरा त भयो । तर पुनः खानेपानीको शुल्क कसरी बुझाउने भन्ने चिन्तामा परेका छन् ।

सरकारले सिंचाइमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । तर मानिसको दैनिक जीवनसँग जोडिएको खानेपानी योजनामा अनुदानको व्यवस्था नगर्दा कुम्मायकवासी समस्यामा परेका हुन् । देशकै नमूना र लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको मिटर जडान पूरा हुन लागेको छ ।

काकाकुल अवस्थाको कुम्मायकका साविक यासोक, रानीगाउँ र स्यावरुम्बा गरी ४ वडामा खानेपानी वितरण शुरु गरिएको छ । तर खानेपानीको महसुल कति बुझाउनु पर्ने हो भन्ने अन्योलका बीच तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिले मूल्य निर्धारण गरेको छ । मिटर जडान भई खानेपानी प्रयोग गर्दै आएका घरधुरीलाई चैत्र १ गतेबाट ५ सय रुपैयाँका दरले मासिक शुल्क लिने निर्णय गरेको हो । यो निर्णय सुनेका स्थानीय कसरी रकम जुटाउने भन्ने चिन्तामा परेका छन् ।

‘सुख्खाक्षेत्रमा उत्पादन भएको खाद्यान्नले वर्षको ३ देखि ४ महिना मात्रै खान पुग्छ । बाँकी समय ऋणपान गरेर खाद्यान्न खरिद गर्नुपर्दा रकम जुटाउन मुस्किल पर्छ’ –स्थानीय पूर्णबहादुर थापाले गुनासो सुनाए । देशकै लिफ्टिङ प्रविधिको ठूलो खानेपानी योजना महँगो भएपछि स्थानीय अन्योलमा परेका हुन् ।

समुद्र सतहदेखि १ हजार ७ सय ९३ फिट उचाइमा रहेको कुम्मायक–५ को थामडाँडासम्म पानी लिफ्ट गर्न ११ केभिए विद्युत् प्रसारण लाइन लगिएको छ । विद्युतीय प्रविधिको खानेपानी योजना सञ्चालन गर्दा प्रतिघण्टा २ हजार रुपैयाँ विद्युत् महसुल उठ्ने गर्छ । सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरीका १३ हजार जनसङ्ख्यालाई दैनिक १८ घण्टा खानेपानी सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दैनिक ३६ हजार रुपैयाँ विद्युत् महसुल उठ्दा महसुल महँगो हुन गएको सङ्घीय खानेपानी ढल व्यवस्थापन अयोजना इलामका प्राविधिक ज्ञानु रिजालले बताए ।

एकातिर विद्युत् खर्चिलो हुन्छ भने अर्को तिर आयोजनामा करिब ३० जनाभन्दा बढी कर्मचारी आवश्यक पर्छ । यस्तो अवस्थामा योजना सञ्चालन गर्न चुनौती देखापरेको छ । एक वर्षसम्म खानेपानी योजना निर्माण कम्पनी स्वयम्ले सञ्चालन गर्नेछ । खानेपानीको महसुल सङ्कलन गर्ने जिम्मा उपभोक्ता समितिको काँधमा आएको छ । मासिक ६ हजार लिटर पानी प्रयोग गर्ने घरधुरीले ५ सय रुपैयाँ र त्योभन्दा माथि पानी प्रयोग गर्ने घरधुरीले आवश्यकताअनुसार महसुल बढ्दै जाने समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए ।

‘तमोर पम्पिङ खानेपानी आयोजना महँगो हुन्छ भन्ने समितिलगायत कुम्मायकवासीलाई शुरुवाती समयदेखि नै थाहा थियो’ उनी भन्छन्, ‘तर, खानेपानीको पीडामा सम्हालिन नसकेको अवस्थामा जति पनि महसुल बुझाउन तयार छौं भन्ने कुरा सबैबाट आयो । अहिले न्यूनतम् ५ सय रुपैयाँ तोकेका छौ, सरकारले छुट दिएमा कम हुनसक्छ ।’ केही एक साताअघि खानेपानी योजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । खानेपानी महसुल घटाउन समितिले ओलीलाई ज्ञापन–पत्र पनि बुझायो । ज्ञापन–पत्र बुझ्दै ओलीले आवश्यक छलफल गरेर निष्कर्ष निकाल्ने वचन दिएका थिए ।

सरकारले पाँचथर जिल्लामा मात्रै एक अर्ब बढी रकम खानेपानीमा खर्च गरेको छ । ठूलो आयोजना अन्तर्गत कुम्मायक र तुम्बेवा गाउँपालिकामा तमोर लिफ्ट खानेपानी योजना सञ्चालनमा छन् । त्यस्तै साना योजना अन्तर्गत फिदिम नगरपालिका, हिलिहाङ र फाल्गुनन्द गाउँपालिकामा पनि लिफ्टिङ खानेपानी योजनाको काम धमाधम हुँदै आएको छ । लिफ्टिङ प्रविधिको योजना खर्चिलो भएकाले पनि खानेपानी महसुल बढ्ने गरेको हो । सामान्य नागरिकले खानेपानीको महसुल बुझाउन नसक्ने अवस्था सिर्जना भइरहेको अवस्थामा राज्यस्तरबाट यो समस्या सम्बोधन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।