बिर्तामोड /  झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए ।
निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार १५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा केदार गिरी चयन भएका छन् । समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएका छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।
नयाँ नेतृत्व चयनको सर्वसम्मत प्रयासको पहल हुँदा नरेन्द्र बराल, प्रेम बस्नेत र भूपाल बुढाथोकीले सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका थिए । यसअघि साधारणसभाको उद्घाटन कार्यक्रममा मोफसलको प्रतिष्ठित गोल्डकप झापा गोल्डकपलाई संस्थागत रुपमा अघि बढाउन सफल भएको गोल्डकप आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताएका थिए । नेतृत्व चयनसहितको साधारणसभामा बोल्दै अध्यक्ष गिरीले गोल्डकपलाई संस्थागत बनाउने क्रममा २५४ जना सदस्य बनाइएको जानकारी दिए । यो सदस्य संख्यालाई कम्तिमा एक हजार पु¥याउनुपर्नेमा उनको जोड छ ।
फ्यान क्लबको अवधारणाअनुरुप झापा गोल्डकपलाई विकसित गरिएको बताउँदै उनले आर्थिक रुपमा सबल बनाउन पनि प्रयत्न भइरहेको पनि सुनाए । उनले आफ्नो कार्यकालमा एक करोड रुपैयाँको अक्षयकोष खडा गर्ने लक्ष्य लिइए पनि हालसम्म ३२ लाख रुपैयाँ बचत गर्न सकिएको साधारणसभामा जानकारी गराए । अब झापा गोल्डकप आयोजना गरिँदा जिल्लाका १५ वटै पालिकामा पु¥याउने सोचलाई पूरा गर्न नयाँ कार्यसमितिलाई गिरीले आग्रह पनि गरेका छन् ।
झापा ११ लाई अब एकाडेमीका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । सम्भव भएसम्म सार्कस्तरीय टुर्नामेन्ट आयोजना गर्न सकेको खण्डमा भरपूर सहयोग जुटाउने प्रतिबद्धता उनले जनाएका छन् । झापा गोल्डकपको सदस्य संख्यामा बृद्धि गर्दै निःशुल्क हेर्ने व्यवस्था मिलाउन सके झापा गोल्डकप सबैका लागि अपनत्व हुने भन्दै उनले स्पोन्सरको सहयोगबाट प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गोल्डकपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा ११ र झापा गोल्डकपलाई आफ्नै ठानेर सहयोग गरे मोफसलमा फुटबल विकास हुनेमा आफू विश्वस्त रहेको बताए । साधारणसभामा गोल्डकपका सचिव गजेन्द्र पौडेलको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीको आर्थिक प्रतिवदेन पारित भएको थियो । साधारणसभाले झापा गोलडकपको पाँचौँ संस्करण आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको छ ।