इटहरी/ स्थानीय वासिन्दाको लामो प्रयासले इटहरी रङ्गशालाले नयाँ स्वरूप पाउने भएको छ । आगामी फागुनको अन्तिमसम्म रङ्गशालालाई नयाँ स्वरूपमा तयार गर्न रङ्गशाला पुनर्निर्माणको काम भइरहेको छ । रङ्गशालाले नयाँ स्वरूप पाएसँगै इटहरी रङ्गशालालाई प्रदेशकै मुख्य रङ्गशालाको रूपमा चिनाउने स्थानीयको सपनाले मूर्तरूप लिनेछ । त्यससँगै प्रदेश एककै सुविधा सम्पन रङ्गशालाले परिचित हुने छ इटहरी रङ्गशाला ।

प्रदेश नम्बर एकको स्पोर्टस् सिटीको रूपमा चिनिएको इटहरीमा रहेको प्रादेशिक रङ्गशालामा अहिले मेलेसिया र फ्रान्सका इन्जिनियरहरू अहोरात्र खटिरहेका छन् । २२ करोडको लागतमा निर्माणधीन भिआईपी प्यारापिट निर्माणको कामले तीव्रता पाएको छ । द्रुत गतिमा निर्माण भएको प्यारापिट हेर्न जाने इटहरीवासीहरूको दैनिक भीडभाड समेत बढ्न थालेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रङ्गशाला निर्माणका लागि २२ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि निर्माणको कामले तीव्रता पाएको हो । चैत २२ गतेबाट इटहरीमा हुने गोल्डकप अघि नै मैदान निर्माणको काम सक्ने तयारी छ । चैत्र अगावै मैदानले नयाँ स्वरूप पाउनेछ’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले भने ।

जिल्ला खेलकुद सङ्घ र जिल्ला फुटबल सङ्घको समन्वयमा इटहरीस्थित क्षेत्रीय रङ्गशालाको विस्तारको काम अघि बढेको छ । प्रदेश एककै उत्कृष्ट खेल मैदान इटहरी हुने पक्का छ अध्यक्ष थापाले भने । लामो समय देखि खेलकुद रङ्गशाला नहँुदा विरक्तिएको इटहरीले रूपरङ्ग फेरेको भन्दै उनले गौरव गरे । इटहरीमा बनेको खेलकुदको संरचना प्रदेश एककै नमूना भएको अध्यक्ष थापाको दाबी छ ।

रङ्गशालामा आधुनिक प्यारापिट, भिआईपी प्यारापिट, चेन्जिङ रुम र शौचालय निर्माण हुने क्रममा छ । रङ्गशाला निर्माणका लागि अवश्यक सामग्री भारतको कलकत्ताबाट आयात गरिएको छ । नेपालको प्रतिक्षा कन्ट्क्सनले टेण्डर पारेर मलेसियन कम्पनी पाका सिटिङ कम्पनीलाई पेटी ठेक्का दिएपछि अहिले काम धमाधम भइरहेको मेलेसियाबाट आएका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर ओङ चिङले बताए । उनले डेढ महिना भित्र काम सकेर आफू मलेसिया फर्किने बताए ।

नयाँ प्यारापिट निर्माणसँगै रङ्गशालाको दर्शक क्षमता ८ हजार बढीको रहनेछ । अहिले ५ हजार दर्शक क्षमताको रङ्गशालामा नयाँ प्याराफिट जडानपछि ३५ सय देखि ४ हजार दर्शक क्षमता बढ्नेछ । अहिले रङ्गशालामा दैनिक २ विदेशी सहित ३५ देखि ४० जनाले निर्माणको काम गरिरहेका छन् ।

फ्रान्सबाट आएका ६८ वर्षीय फेन्कले विहान आठ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्दै आएको बताए । सेतै फुलेका फेन्क आफै दिनभरि खटेर काम गर्छन् । ‘पूर्वाधार र खेल गतिविधिमा इटहरी खेलकुदमय बन्नुको एउटा कारण यो पनि हो’ फुटबल सङ्घ सुनसरीका अध्यक्ष केशव कार्कीले बताए । कार्कीले इटहरीमा बन्दै गरेको प्यारापिटले खेलकुदकर्मीहरू उत्साहित भएको बताए । हामीले इटहरीमा यति ठुलो प्रोजेक्ट पाउनु गौरवको विषय भएको कार्कीको भनाइ थियो । सुविधा सम्पन्न प्याराफिट सँगै खेलको स्तर पनि बढाउँदै लैजानुपर्ने कार्कीको भनाइ थियो ।

अहिले इटहरीमा खेल पूर्वाधारहरू मात्र बनिरहेका छैनन् पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत धमाधम भइरहेका छन् । निर्माणाधीन रङ्गशालामै सातौं राष्ट्रिय खेलकुद भएको इटहरीमा पुस र माघमा मात्रै पाँचवटा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता भइसकेका छन् । १२औं आईएफटीसी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गत पुसमा आयोजना गरियो । यो प्रतियोगितामा १२ देशका खेलाडी सहभागी थिए । यस्तै पीएलओ यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट र ११ लाख पुरस्कार राशिको मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप पनि माघमा आयोजना गरिएको थियो । फुटबल प्रतियोगिता हेर्न एकै दिन दश हजार दर्शक रङ्गशाला पुगेपछि धेरैले विनाटिकट र उभिएरै पनि खेल हेरेका थिए ।