विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नाममा रहेको सरकारी जग्गामा विभिन्न चारवटा सङ्घ–संस्थाले उपभोग गरी व्यवसायिक प्रयोजन गरिरहेको पाइएको छ । जसबाट भाडामा लगाएर लाखौं रूपैयाँ आम्दानी लिइरहेको खुलेको छ ।

अस्पतालको १३ कठ्ठा १३ धुर जमिनमा चारवटा सङ्घ–संस्थाले उपभोग गरिरहेका हुन् । अस्पतालको ५ बिघा ९ धुर जमिनमध्ये नेपाल क्षयरोग निवारण केन्द्र, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले १३ कठ्ठा १३ धुर जमिन वर्षौंदेखि उपभोग गरी व्यवसायिक प्रयोजनमा भाडामा लगाएर लाखौं रूपैयाँ आम्दानी लिएका हुन् । नयाँ भवन निर्माणको लागि अस्पतालको जग्गा खोजी गर्ने क्रममा गत माघ २९ गते गरिएको नापीअनुसार अस्पतालको जग्गाको उपभोग सबैभन्दा बढी राष्ट्रिय क्षयरोग केन्द्रले गरेको पाइएको छ ।

क्षयरोग केन्द्रले कोशी अस्पतालको ८ कठ्ठा १० धुर, गणेश मन्दिरले १ कठ्ठा १० धुर, नेपाल रेडक्रस सोसाइटीले १ कठ्ठा १३ धुर र देवकोटा पुस्तकालयले २ कठ्ठा जमिन उपभोग गरी व्यवसायिक प्रयोजनमा भाडामा लगाएको कोशी अस्पतालकी सुपरिटेण्डेण्ट मे.सु. डा. सङ्गीता मिश्राले जानकारी दिइन् । अस्पतालको नयाँ भवन निर्माणका लागि बहुवर्षीय योजनाअनुसार सङ्घीय सरकारको सङ्घीय आयोजना कार्यान्वयन एकाइ भवन कार्यालयको नाममा चालू आर्थिक वर्षमा ४० करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।

त्यही बजेटबाट अस्पतालले आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजी सेवाको लागि नयाँ भवन निर्माणमा अस्पतालको जमिन खोज्ने क्रममा चारवटा संस्थाले भोगचलन गरेको पाइएको थियो । क्षयरोग केन्द्रले अस्पतालको जग्गा भोगचलन गरी १६ वटा कोठा व्यवसायिक प्रयोजनामा ल्याएको पाइएको छ । यस्तै देवकोटा पुस्तकालयले १० वटा, रेडक्रसले बैङ्कसहित आधा दर्जन बढी कोठा भाडामा लगाएको छ । उनीहरूले औषधि पसल, निजी क्लिनिकहरूलाई भाडामा लगाएका छन् ।

अस्पतालको जमिन उपभोग गरी क्षयरोग केन्द्र, दवकोटा पुस्तकालय, गणेश मन्दिर र रेडक्रसले लाखौं रुपैयाँ असुली गर्दै आएको छ । क्षयरोगले २०१६ सालमा बनाएको भवनमा कार्यालय सञ्चालन गर्नुका साथै खेलकुद विकास समिति, औषधि पसल र क्लिनिकलाई भाडामा दिएको छ । रेडक्रसको ब्लड बैङ्कले भवन बनाएर वाणिज्य बैङ्कलाई भाडामा दिएको छ । अस्पतालको जग्गा चारवटा संस्थाले उपभोग गरेको पाएपछि जमिन प्रयोगको इजाजत भए नभएको बारेमा उनीहरूलाई पत्राचार पनि गरेको मिश्राले बताइन् । देवकोटा पुस्तकालय र रेडक्रसले मात्र अहिलेसम्म अस्पतालले पठाएको पत्रको जवाफ फर्काएको छ । गणेश मन्दिर र क्षयरोग केन्द्रले अहिलेसम्म केही जानकारी नगराएको मे.सु. मिश्राले जानकारी

अस्पतालकी मे.सु. मिश्राले कोशी अस्पतालको जग्गामा बनेको भवनहरू अस्पतालको स्वामित्वमा ल्याएर नयाँ भवन निर्माण गरेर अगाडि बढ्ने बताइन् । सङ्घीय सरकारबाट आएको बजेटले आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवाको लागि नयाँ भवन निर्माण चाँडै शुरू गर्ने बताइन् । ‘अस्पताल सुधारमा सर्वदलीय बैठक पनि बसेको छ’ उनले भनिन्, ‘बैठकबाट आएको सुझाव लिएर अगाडि बढ्नेछु ।’ मास्टर प्लान बनाएर अस्पतालको भौतिक पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रदानमा अगाडी बढने उनको भनाई छ ।

यता क्षयरोग संस्थाका अध्यक्ष राजन श्रेष्ठले २०१६ सालदेखि क्षयरोग केन्द्र बस्दै आएको बताए । इतिहास खोतल्दै जाने भए वनस्खण्डी मन्दिरको जग्गा भएको उनको भनाइ छ । सबै सङ्घ–संस्थाले सामाजिक काम गर्दै आएकोले मिलेर बस्नुपर्ने उनले बताए ।