इटहरी/ शहर आर्थिक विकासका केन्द्र हुन्छन् । नगरक्षेत्र जति विकसित हुँदै जान्छन्, त्यति तिनका वरिपरि आर्थिक क्रियाकलाप घनिभूत एवम् आकर्षित हुँदै जान्छन् । देशका अधिकांश नगरपालिका कुनै न कुनै विषयमा चर्चामा आए पनि सुनसरीको रामधुनीसँग इतिहास जोडिएको रामधुनी नगरपालिका भने कुनै आर्थिक स्रोत बिना नाम मात्रको छ ।
पुरानो शहरको रूपमा चिनिएको रामधुनी नगरपालिका अन्य नगरपालिकाको तुलनामा पछाडि पर्दै गएको छ । सुनसरी जिल्लामा साविक रामधुनी भासी नगरपालिका, डुम्राहा र बक्लौरी गाउँ विकास समितिहरूलाई समेटेर बनेको रामधुनी नगरपालिका छिमेकी नगरपालिकाहरूको तुलनामा पछाडि पर्दै गएको बताउँछन् नेपाली काङ्ग्रेसका नगरसभापति तथा स्थानीय युवा सुदीप अधिकारी । उनी भन्छन्, ‘झुम्का शहर इटहरीको चेपुवामा पर्दा धेरै पछाडि प¥यो ।’
झुम्कामा व्यापार–व्यवसायसमेत सामान्यरूपमा मात्र चल्दै आएको अधिकारी बताउँछन् । उद्योगधन्दा समेत नहुँदा झुम्काबासी इटहरीमा आश्रित भएको उनले जनाए । ‘झुम्कामा पूर्व–पश्चिम हाई–वेको कालोपत्रे बाटोभन्दा केही छैन’ उनले भने, ‘नगरपालिका भए पनि विकास अरू नगरपालिकाको जस्तो भएन ।’ विकास निर्माणमा पनि झुम्का पछाडि परेको नेता अधिकारीको तर्क छ ।
सामान्य क्लिनिकसमेत नहुँदा अहिले झुम्का नगरपालिका गाविसजस्तै छ । नगरपालिका भए पनि अन्य शहरहरूको तुलनामा निकै पछाडि परेको बताउँछन् साहित्यकार तथा सामाजिक अगुवा रमेश अधिकारी । छिमेकी शहर इटहरी, इनरुवालगायतका ठाउँमा विकासले फड्को मारे पनि रामधुनी नगरपालिकाको स्तरोन्नति हुन नसकेको उनी बताउँछन् । ‘रामधुनी नगरपालिकाको स्तरोन्नति कहिले होला खै ?’ –उनले भने ।
रामधुनी क्षेत्रमा राम्रा स्कुल कलेज छैनन् । सामान्य विषयमा पनि इटहरीमा निर्भर हुनुपरेपछि गुनासो अभिव्यक्त हुन थालेको सुनिन्छ । कुनै पनि क्षेत्रका आ–आफ्नै समस्या हुन्छन् । रोजगारीको लागि पनि यहाँका अधिकांश स्थानीयहरू इटहरीसँगै दुहबी क्षेत्रका उद्योगहरूमा कार्यरत छन् । रामधुनीका पुराना स्थानीय तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सगेन चौधरीले झुम्का अन्य शहरको तुलनामा थिचोमिचोमा परेको बताए ।
रामधुनीलाई एउटा पार्कका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । तर अहिलेसम्म यस क्षेत्रमा विद्युत् र सुरक्षाको प्रत्याभूति छैन । शौचालय, खानेपानी र कालोपत्रे बाटोको अभावमा रामधुनी विकासमा पछि परेको स्थानीयको गुनासो छ । विकास निर्माणमा सुस्त नगरपालिकाले अन्य नगरपालिकाको सिको गर्दै विकास गर्न सक्नुपर्छ । जनप्रतिनिधिहरू आए पनि जनताले सोचेअनुरूप विकास नहुँदा जनतामा निराशा छाएको यहाँका सर्वसाधारण बताउँछन् ।
पर्यटकीय क्षेत्रको बेहाल
रामधुनी नगरपालिका वडानम्बर १० मा रहेको पवित्र धार्मिक तीर्थस्थलको रूपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास उल्लेखनीय रूपमा हुन सकेको छैन । नेपालको प्रमुख धार्मिकस्थलहरूमध्येको एक ‘रामधुनी मन्दिर’ को आफ्नो छुट्टै विशेषता र महŒव रहेको छ ।
त्रेतायुगमा भगवान राम वनबास आएको र त्यसबेला त्यहाँ रामले बालेको अखण्ड धुनी हालसम्म पनि बलिरहेको किंवदन्ती रहिआएको छ । चारैतिर जङ्गलको बीचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरू आउने गर्दछन् । सुनसरी जिल्लाको रामधुनी नगरपालिका–१० अन्तर्गत पर्ने जङ्लको मध्यक्षेत्रमा रहेको रामधुनी प्रख्यात धार्मिक स्थल हो । यसलाई व्यवस्थित गरेमा वार्षिक लाखौं पर्यटक आउने थिए ।
विगतको तुलनामा वनभोज तथा विभिन्न मेलामा समेत भक्तजनहरूको सङ्ख्या दिनानुदिन बढ्ने गरेको रामधुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए । समग्रमा धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा अझ विकास गर्नका निम्ति समितिका साथै स्थानीय निकाय, सरोकारवाला तथा नेपाल सरकारले नै विशेष ध्यान दिँदै विकासका निम्ति पहल गर्नुपर्ने देखिन्छ ।