धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको तयारी पूरा भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार फागुन १० गतेदेखि १७ गतेसम्म धरान रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । करिब ७ हजार दर्शक क्षमताको प्याराफिट पनि तयारी अवस्थामा छ । क्लबका अध्यक्ष किशोर राईले भने, ‘सवै तयारी पूरा भइसक्यो । अब खेल शुरु गर्न मात्र बाँकी छ ।’ प्रतियोगितामा स्वदेश र विदेशका गरी ८ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपालका लिग विजेता मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब प्रदेश १ लिग विजेता बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब रहेका छन् । विदेशी टिममा भारतको युके एफसि र पश्चिम बंगालको कलकत्ताको सनडे क्लब रहेका छन् । आयोजकले एकसाता अघिसम्म जापानको लिग टिम समेत सहभागी हुने भन्दै टाइसिट समेत प्रकाशित गरिसकेको थियो तर, कोरोना भाइरसको कारण देखाउँदै टिम परिवर्तन गर्नु परेको अध्यक्ष राईले बताए ।

आयोजक क्लबले यसपटक उपाधि विजेताले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । उपाधि विजेताको राशीमा दुई लाख रुपैयाँ र उपविजेताको राशीमा एकलाख रुपैयाँ वृद्धि गरिएको छ । प्रतियोगिताको उपाधि विजेताले यसपटक नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । समापन समारोहमा उत्कृष्ट खेलाडी घोषित हुनेले डियो स्कुटी एक थान प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पाउनेछन् ।

गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको प्रतियोगितामा आयोजक क्लबले यसपटक ७० वर्षका वृद्ध पुरुष र ६५ वर्षका वृद्धा महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगिताको सबै तयारी पूरा भए पनि आयोजक क्लबले आफ्नो टिम भने अझै तयारी गर्न नसकेको क्लबका अध्यक्ष राईले बताए । उनका अनुसार यसपाली एकै समयमा थुप्रै प्रतियोगिताहरू आयोजना भइरहेकाले आयोजक क्लबले खेलाडीहरू पाउन नसक्दा टिम तयारी गर्न मुस्किल भएको हो । उनले भने, ‘शुक्रबारसम्ममा खेलाडीहरूको टुङ्गो लाग्नेछ ।’