बिर्तामोड / तेस्रो सताक्षी गोल्डकपको बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टार क्लब काठमाडौँ विजयी भएको छ ।
आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।
त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रि स्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोल किप्पर मनोज प्रधानको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो । खेलको ८२ औँ मिनेटमा अर्को एक गोल थप्दै थ्रि स्टारले जित सुनिश्चित गरेको थियो ।
खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रि स्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले गोल गरि शुन्य हुनबाट बचाए ।
खेलको म्यान अफ दि म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भए । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।