धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको २२ औं संस्करणको टिकट अब अनलाइनमार्फत् नै खरिद गर्न सकिने भएको छ ।

आयोजक धरान फुटबल क्लब र युनिक ट्राभल्र्स एण्ड टुर्स आइएमई सेन्टरसँगको सहकार्यमा ‘आइएमई पे’ मार्फत् अनलाइन टिकट खरिद गर्न सकिने भएको हो ।

२१ औं संस्करणसम्म यस्तो व्यवस्था गरिएको थिएन । बूढासुब्बा गोल्डकप हेर्न आउने दर्शकलाई सहज बनाउने उद्देश्यका साथ यसपटकबाट आइएमई पे अनलाइन शुरु गरिएको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

२२ औं संस्करणको बूढासुब्बा गोल्डकपमा विदेशी २ टिमसहित ८ वटा टिम सहभागी छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बूढासुब्बालाई ‘क’ श्रेणीमा वर्गीकरण गरेसँगै गोल्डकपमा अनलाइन टिकटको व्यवस्था गरिएको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए । अनलाइन डिजिटल प्रणालीमार्फत् दर्शकहरूलाई सहज हुने विश्वास आयोजकको छ ।

आइएमई पेको एप डाउनलोड गरेर घरबाटै टिकट खरिद गर्न सकिने भएको छ । आइएमई पेमार्फत् टिकट खरिद गर्दा नगद ३० रुपैयाँ नगद उपहार (क्यासब्याक) समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।