बिर्तामोड/ कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा विजेता टिम मच्छिन्द्र क्लबबाट फुटबल खेलेका झापाका खेलाडीलाई सम्मान एवं पुरस्कृत गरिने भएको छ ।

झापा गोल्ड कप आयोजक समितिका संयोजक महेन्द्र गिरीले लिगमा ऐतिहासिक रेकर्ड बनाएको मच्छिन्द्र क्लबका झापाली खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

प्रशिक्षक प्रवेश कटवाल सहितका झापाका खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्न लागिएको संयोजक गिरीले जानकारी दिए । उनका अनुसार अधिकांश झापाका खेलाडी रहेको मच्छिन्द्र क्लबले लिगमा गरेको उत्कृष्ट प्रदर्शनबाट उत्साहित हुँदै पुरस्कार तथा सम्मान गर्न लागिएको हो । पुरस्कारले झापाका खेलाडीको हौसला बढ्ने विश्वास लिएको गिरीले बताए ।

संयोजक गिरीले प्रशिक्षक कटवाललाई २५ र खेलाडीलाई जनही १५ का दरले पुरस्कार रकम तथा सम्मान प्रदान गरिने जानकारी दिए । झापाबाट प्रशिक्षक कटवाल सहित मच्छिन्द्र क्लबमा डिफेण्डर देवेन्द्र तामाङ, विमानप्रसाद राई मिडफिल्डर योगेश गुरुङ, विशाल राई ‘बी’, फरवार्ड रेजिन सुब्बा, विशाल राई ‘ए’, ले मच्छिन्द्र क्लबबाट फुटबल खेलेर उपाधि हात पारेका थिए ।

झापामा एक समारोहको आयोजना गरी प्रशिक्षक तथा खेलाडीलाई सम्मान एवं पुरस्कार प्रदान गर्न लागिएको गिरीले बताए । सहारा नेपालका कार्यकारी निर्देशक गिरी विगत २ वर्षदेखि झापा गोल्डकपको आयोजक समितिका संयोजक रहँदै आएका छन् । गिरीको सहभागितामा आयोजना हुने झापा गोल्डकपले भव्यता पाउनुका साथै देश, विदेशमा चर्चा बटुल्न सफल भएको छ ।