उदयपुर/ फरक पहिचानको उदयपुरस्थित सुके पोखरीले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । सुन्दा अनौठो लाग्ने उदयपुरको सुके पोखरीमा पानी नजम्ने कारणले पनि पर्यटकको रोजाइको केन्द्र बनिरहेको हो । रौतामाई गाउँपालिका–५ मा रहेको सुके पोखरीको लम्बाइ करिब एक किलोमिटर, आठ सय मिटर चौडाइ र करिब ३ सय मिटर गहिराइ रहेको छ । यसको अनौठो र आश्चर्य लाग्ने विशेषता भनेको कहिले पनि पोखरीमा पानी नजम्नु हो ।

छुट्टै पहिचान बोकेको पोखरी राष्ट्रकै एक प्रमुख पर्यटकीय स्थल बन्न सक्ने भए पनि वर्षौँदेखि ओझेलमा पर्दै आएको छ । उत्तरका हिमाली शृङ्खला र दक्षिणतर्फ तराईका सुन्दर फाँट एकै नजरमा सहजरूपले अवलोकन गर्न सकिने एउटा भ्यू–प्वाइण्टको रूपमा रहेको पोखरीको संरक्षण तथा प्रवद्र्धनका लागि पछिल्लो समयमा आएर वडाले केही चासो देखाएको स्थानीय बताउँछन् । चार भञ्ज्याङ र चार थुम भएको पोखरीमा पानी कहिल्यै जम्दैन ।

१९६० सालको अत्यधिक वर्षाले गर्दा पोखरीमा पानी भरिएको दन्त्यकथा झैं बाजे बराजुले सुनाएको स्थानीय ज्येष्ठ नागरिक नैनबहादुर राईले बताए । पोखरीमा पानी जम्ने हो भने धेरै ठूलो र गहिरो ताल बन्ने उनले जनाए । बाल्यकालदेखि पोखरीमा जति ठूलो र लामो समयसम्म वर्षा हुँदा पनि पानी जमेको नदेखेको राईले बताए । ठूलो र लामो समयसम्म वर्षा हुँदा पनि पोखरीको पूर्वी छेउमा थोरै पानी मात्र जम्ने र त्यो पनि हिउँद लागेपछि कात्तिक, मङ्सिरमा नै सुक्ने गरेको उनले बताए ।

पूर्व–उत्तर, उत्तर–पश्चिम, पश्चिम–दक्षिण र दक्षिण–पूर्व भञ्ज्याङमध्ये पश्चिम–पूर्व भञ्ज्याङ होचो भएको स्थानीयले बताएका छन् । पूर्व, उत्तर, पश्चिम र दक्षिणमा रहेका थुम्कामध्ये पश्चिमपट्टिको थुम्को सबैभन्दा अग्लो रहेको छ । उक्त पोखरीबाट उत्तरमा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, चोयु, कञ्चनजङ्घा, मकालु, कुम्भकर्णलगायतका ८ हजारभन्दा हिमालको साथमा अन्य अग्ला हिमशृङ्खलाहरू र दक्षिणमा तराईका समथर फाँटदेखि भारतका उत्तर प्रदेश, विहार प्रदेशका विभिन्न भाग खाली आँखाले प्रत्यक्ष देख्न सकिन्छ । वडाले ५ लाख र पालिकाले २ लाख रुपैयाँ बजेट छुट्याएर पोखरीसम्म आवत–जावत गर्नका लागि सहज बनाउने लक्ष्य लिएको छ । बिजुली बत्तीको काम तीव्र गतिमा भइरहेको रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले बताए । पोखरीको संरक्षण तथा प्रवद्र्धनका लागि वडाले बजेट विनियोजन गरेर नै काम अगाडि बढाएको उनले बताए ।

पोखरीको वरिपरि पदमार्ग, पोखरीदेखि पश्चिमी अग्लो थुम्का पुग्नका लागि सिँढी, थुम्कामा भ्यू–टावर, पूर्व–दक्षिणको थालेचौरी डाँडासम्मको पदमार्ग निर्माणलगायतका पर्यटकीय क्षेत्रको विकासका योजना पालिकामा पेश गरिसकेको अध्यक्ष राईले बताए । ढुङ्गाको सिँढी र छेउमा रेलिङसहितको पदमार्ग निर्माण गर्ने सोचका साथ योजना बनाएर पेश गरेको उनले बताए । विकासका पूर्वाधार निर्माण कार्यलाई वडाले विशेष प्राथमिकतामा राखेर पोखरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अध्यक्ष राईले बताए । सडक यसपालि पुगेपछि पोखरीमा आवत–जावत गर्न सहज हुनेछ । खानेपानीको सुविधा छ । बिजुलीको तार टाँग्ने काम भइरहेकोले बत्तीको समस्या पनि चाँडै समाधान हुने उनले बताए ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीदेखि करिब ५ किलोमिटर तल पूर्वतर्फ सुके पोखरी अवस्थित छ । केन्द्रीय सरकारले मात्रै नभई स्थानीय सरकारले पनि खासै चासो नदेखाएकाले सुकेपोखरी ओझेलमा परेको स्थानीय सीताराम राईले बताए । पोखरीको विकासका लागि पूर्व–उत्तर भञ्ज्याङमा यलम्बरको मूर्ति र पश्चिममा साकेला थानको स्थापना गरेको उनले बताए ।

पर्यटकीय हब बन्ने सम्भावना बोकेको पोखरीको संरक्षण तथा प्रवद्र्धन गर्न सके स्थानीयको आर्थिकस्तर उक्सने राईले बताए । पोखरीको पश्चिमी थुम्का भ्यू–प्वाइण्टको रूपमा रहेको उनले बताए । पोखरी आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न खासै समय लाग्दैन । तर अघिल्ला पुस्ताले पोखरीको संरक्षण तथा प्रवद्र्धन गर्न नसक्नु र पोखरीको विकासमा चासो नदेखाउनुले पोखरी ओझेलमा परेको स्थानीय सर्वधन राईले बताए ।

पोखरीको विकासमा सम्बन्धित निकायले चासो नदेखाउनु र पोखरी छेउछाउ बसोबास गर्ने स्थानीयले पहल गर्न नसक्नुले पोखरीको विकास हुन नसकेको उनले बताए । विकासको भौतिक पूर्वाधारपछि पर्यटकलाई गाँस, बासको लागि व्यवस्थित होटलको पनि उत्तिकै आवश्यकता रहेको छ । पर्यटकीय विकाससँगै स्थानीय उत्पादनले बजार पाउने र स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने राईले बताए । पर्यटकीय क्षेत्रको रूपमा पदमार्ग निर्माण गर्न सकिने र रौतासँगै सुके पोखरीलाई पनि सहज रूपले जोड््न सकिने उनले बताए ।