विराटनगर/ विराटनगरका रानी साह र मुकेश यादवले ‘मिनि म्याराथुन दौडको’ उपाधि जितेका छन् ।

विराटनगरस्थित सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा शनिबार भएको ‘मिनि म्याराथुन दौड’ प्रतियोगितामा छात्रातर्फ रानी र छात्रतर्फ मुकेशले उपाधि जितेका हुन् ।

सोही स्पर्धाको छात्रातर्फको द्वितीय सविता यादव र तृतीय पूर्णिमा श्रेष्ठ घोषित भए । प्रतियोगिताको चौथो र पाँचौ क्रमशः मनिषा साह र शुष्मा मण्डल घोषित भएका थिए ।

यस्तै छात्रतर्फको उक्त स्पर्धाको द्वितीय विक्की चौधरी, तृतीय स्कूलका दिपेन विक भए । यस्तै चौथो अनुराग राउत र पाँचौ आशिष साह घोषित भए ।

सैनिक टोल समाज सेवा समिति विराटनगर १२ र १३ सह आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका एक दर्जन विद्यालयका विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक विष्णु डंगोलले जानकारी दिए ।

विजेता हुने विद्यार्थीहरूलाई जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेल, सौगात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रबहादुर तामाङ, सैनिक टोल समाज सेवा समितिका अध्यक्ष अनुप कुमार श्याङ्गबो र कार्यक्रम संयोजक तथा प्याब्सन मोरङका सहसचिव विष्णु डंगोललगायतले पुरस्कार वितरण गरेका थिए । गत वर्षदेखि सौगात सहकारीले बालवालिकाहरूमा भएको व्यक्तित्वको विकास गराउने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ ।