धरान/ धरान रनको ‘प्रभु बैङ्क धरान १० के रन’ नेवा च्यारिटीको ८ औं संस्करणमा विदेशी धावकहरूको पनि उल्लेख्य सहभागिता हुने भएको छ ।

नेवा च्यारिटीको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसपटक हङकङ, बेलायत, भारत र बंगलादेशका धावकहरूले पनि आफ्नो नाम दर्ता गरेकाले यसपटक अन्तर्राष्ट्रिय स्तरको हुने विश्वास पलाएको आयोजक धरान रनका अध्यक्ष रमु राईले बताए ।

धरान रनको आठौं संस्करणमा आइपुग्दा ५ हजार धावकहरू एकसाथ धरानमा दौडने राईले बताए । शनिबार बेलुकीसम्म करिब ४ हजार धावकले आफ्नो नाम अनलाइनमार्फत फारम भरेर बुझाइसकेका छन् । धरान रनमा खुलाका मुख्य स्पर्धाका विजेता धावकहरूका लागि पुरस्कार राशीमा पनि वृद्धि गरिएको राइले बताए ।

उनका अनुसार मुख्य स्पर्धामा खुलातर्फको महिला र पुरुषको प्रथम नगद पुरस्कार वृद्धि गरेर जनही ५० हजार प्राप्त गर्ने व्यवस्था गरिएको छ । दोस्रो र तेस्रो हुने दुवैतर्फका खेलाडीले क्रमशः जनही ३० हजार र २० हजार रुपैयाँ हात पार्नेछन् ।

दौडमा ४० वर्ष माथिको भेट्रान, १६ वर्षसम्मका र १२ वर्षसम्मका उमेर समूहका विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो हुने धावकले क्रमशः जनही नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । ६० वर्ष माथिका सुपर भेट्रानका विजेताहरूलाई आकर्षण उपहार दिइने आयोजकले जनाएको छ । दौडमा १२ वर्षसम्मकाले ३ किलोमिटर दूरी मात्र पूरा गर्नुपर्नेछ ।

यसैबीच आयोजक धरान रनले विजेता र धावकहरूलाई प्रदान गरिने मेडल र टिर्सट सार्वजनिक गरेको छ । टिसर्ट र मेडल धरान रनका अध्यक्ष रमु राई, सचिव राजेन्द्र लिम्बू, र ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवास, सचिव लक्ष्मी काफ्लेले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।