इनरुवा ।  सुनसरीको कोशी गाउँपालिकामा बीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ ।
कोशी गाउँपालिकाले आयोजना गरेको कोशी महोत्सव स्थलमा सृष्टि समाज समेतको संयुक्त आयोजनामा दोस्रो संस्करणको राष्ट्रिय कुस्ती प्रतियोगिता सञ्चालनमा ल्याइएको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार समूह चरणका खेलहरू सम्पन्न भएका छन् ।

समूह चरणका खेलमा अधिकांशजसो राष्ट्रिय खेलाडीहरूले जित हात पारेका छन् । अघिल्लो चरण प्रवेश गर्नेमा १३ औं सागका पदक विजेता र राष्ट्रिय स्तरका खेलाडीहरू रहेका छन् । प्रतियोगिता महिला र पुरुष दुई भिन्ना भिन्नै समूहमा आयोजना गरिएको छ । महिलातर्फ ५५, ६५ र ७२ केजी समूहमा प्रतिस्पर्धा गराइएको छ । त्यसैगरी पुरुषतर्फ ७०, ८६ र १२५ केजी समूहका खेल खेलाइएको छ । जारी प्रतियोगितामा विभिन्न तौल समूहका ३६ खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा ४ र ६ नम्बर बाहेकका प्रदेश र दुई विभागीय टोली नेपाल पुलिस र आर्मीले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत फाइनल चरणका खेलहरू शनिबार खेलाइनेछन् । प्रतियोगिताका विजेता तौल समूहका खेलाडीहरूलाई नगद र शिल्ड तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

१९ गतेबाट सञ्चालन गरिएको महोत्सव माघ २९ गते सम्म चल्ने छ । महोत्सवमा कुस्तीका अलावा भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उद्देश्यसाथ आयोजकले हात्ती सफारीका साथै अर्ना र चरा अवलोकन सहित सप्तकोशी नदीमा बोटिङको व्यवस्था मिलाएको छ । कुस्ती प्रतियोगिताको पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।