बिर्तामोड । यस बर्षको राष्टूपति रनिङ शिल्ड प्रतियोगिताको छनोटका लागि बिर्तामोडमा नगरस्तरीय खेलकुद महोत्सव हुने भएको छ । प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।
नगर खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको छ । मूल आयोजक समितिका संयोजक तथा खेलकुद विकास समितिका अध्यक्ष टीका संग्रौलाका अनुसार महोत्सवमा बिर्तामोडका ४० संस्थागत र ९ सामुदायिक विद्यालयको सहभागिता रहनेछ । महोत्सवमा हुने प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र कबड्डी गरी ११ विधा प्रतिस्पर्धा हुनेछ ।

१० लाख ७१ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा कुल १६७ स्वर्ण, १६७ रजत र १४७ कास्य पदकमा अलगअलग स्पर्धा हुने खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिए । विभिन्न विधाका प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा झन्डै एक हजार पाँच सय खेलाडीले ११ खेलमा भाग लिनेछन् । विजेता खेलाडीलाई नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख ध्रुुवकुमार शिवाकोटीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै, संग्रौलाको संयोजकत्वमा केशव भण्डारी, दुर्गाराज निरौला, प्रेम सुब्बा, सुरेन्द्र खरेल, धर्मराज माझी, दिनेशप्रसाद आचार्य, कृष्णप्रसाद पाठक र गोमा कटवाल रहेको नौ सदस्यीय मूल आयोजक समिति बनाइएको छ । प्रतियोगिता प्याब्सन र एनप्याब्सन बिर्तामोडको समन्वयमा हुन लागको हो ।