प्रदेश १ को साहसिक पर्यटनमा जलजन्य पर्यटन प्रोडक्टहरूमा अहिले खासगरी तीन खाले प्याकेज सञ्चालनमा छन । र्याफ्टिङ, बोटिङ (जेटबोटिङ/मोटर बोटिङ) र ‘एङ्लिङ’ अर्थात् माछा मार्ने खेल । जसमा र्याफ्टिङ तथा बोटिङका कामहरू व्यावसायिक रूपमा सञ्चालनमा छन् । सुनकोशी, अरुण तथा तमोरमा ¥याफ्टिङ सञ्चालन भएका छन् ।

सप्तकोशीमा जेटबोटिङ, इटहरीको तातलैयामा मोटरबोटिङ तथा तराई, पहाडका विभिन्न ताल तथा पोखरीमा प्याडल बोटिङका प्याकेजहरू सञ्चालनमा छन् । एङ्लिङका कामहरू व्यक्तिगत स्तरमा धरानका केही युवाहरूले लामो समयदेखि गर्दै आएका छन । प्रदेश १ मा संभावना भएपनि बजारमा नल्याइएका जलजन्य प्याकेज मध्येको एक प्याकेज ‘स्कुबा डाइभिङ’ हो । सुरक्षित लुगा र उपकरण प्रयोग गरेर दक्ष जनशक्तिसँगै पानी मुनि पुग्ने, माछालगायतका जलचर हेर्ने, चारो दिने र मनोरञ्जन लिने खेल हो ‘स्कुबा डाइभिङ’ । पौडी खेल्न जान्ने र नजान्ने दुवैले खेल्न सकिने खेल हो स्कुबा डाइभिङ ।

स्कुबा डाइभिङका बारेमा अरबिक, जापान, कोरियाली समुन्द्रहरूमा यात्रा गर्ने तथा भारतीय टापुहरू अण्डमान र निकोबार पुग्ने नेपालीहरूले यस्तो खेलको अनुभव लिएका हुन्छन् । नेपालमा भने यसको व्यावसायिक र सफल सञ्चालन हुन सकेको छैन । पोखरामा विवेकसेन गुरुङलगायतका प्राधिकहरूले केही पहल गरेका छन् । यता प्रदेश १ मा भने अथाह सम्भावना हुँदाहुँदै पनि उत्खनन तथा व्यावशसायीकरणको शुरुवात भएकै छैन । स्कुबा डाइभिङ सामान्यतया समुद्रमा सञ्चालन हुन्छ । तर, समुद्रबाहेकका क्षेत्रहरूमा पनि यसको सञ्चालन हुन्छ । स्कुबा डाइभिङको भाषामा ‘फ्रेसवाटर’ क्षेत्र भनिने ताल, नदी तथा पोखरीहरूमा स्कुबा डाइभिङ गरिन्छ ।

यो खेलको सम्भावना प्रदेश १ का गहिरा र आकर्षक नदीहरूमा, तालहरूमा, पोखरीहरूमा छ । पर्यटक लक्षित सामान्य स्कुबा डाइभिङ सञ्चालनका लागि न्यूनतम गहिराई ९ देखि १९ मिटर हो । मनोरञ्जनात्मक स्कुबा डाइभिङको अधिकतम गहिराई ३९ मिटर हो । यो कुनै अनुमानित गणित होइन । स्कुबा डाइभिङमा लामो समय काम गर्दै आएको डिटिम्याग डटकम नामक वेबसाइटले सार्वजनिक गरेको आँकडा हो ।

प्रदेश१ मा कहाँ कहाँ सम्भव हुन्छ स्कुबा डाइभिङ ?
स्कुबा डाइभिङ गर्न आवश्यक गहिराईको आधारमा प्रदेश १ मा यस्ता धेरै सम्भावित स्थानहरू छन् । प्रदेश १ का गहिरा नदी, ताल र पोखरीहरूमा यसको सम्भावना छ । उदाहरणका लागि, पाँचथरको तिम्बुङ पोखरी, सङ्खुुवासभाको सभापोखरी जस्ता गहिरा तथा चर्चित पोखरीमा स्कुबा डाइभिङको संभावना छ ।

रसियाको बैकाल तालमा जस्तै प्रदेश १ का तालहरूमा सोलुखुम्बुको गोक्यो तालमा पानी नजमेको अवस्थामा स्कुबा डाइभिङ सञ्चालनको संभावना हुन सक्छ । स्कुबा डाइभिङमा प्रसिद्ध नदीहरू ब्राजिलको नेग्रो तथा क्यानडाको ओन्टारियो जस्तै प्रदेश १ का नदीहरूमा भने अरुण, सुनकोशी, तमोर तथा सप्तकोशीको सबैभन्दा गहिराई भएको क्षेत्रमा स्कुबा डाइभिङ सञ्चालन गर्न सकिन्छ ।

प्रदेशका गहिरा नदीहरूको किनारमा बसेर गहिराई बारेमा जानकार स्थानीय समुदायको अनुभव तथा रिभर गाइड र प्राविधिकहरूले नापेर गहिराई पत्ता लगाउन सकिन्छ । यी बाहेक अन्य धेरै सुन्दरता र गहिराई भएका नदी, ताल तथा पोखरीमा पनि स्कुबा डाइभिङ सञ्चालन गर्न सकिन्छ । प्रदेश १ का गहिरा नदी, ताल तथा पोखरीहरू आफैमा पर्यटकीय गन्तव्य छन् । यी गन्तव्यलाई मौद्रिकीकरण गर्नको लागि स्कुबा डाइभिङ एक प्याकेज हुन सक्छ । नदी, ताल र पोखरी आसपासका स्थानीय समुदाय, उद्यमी तथा पर्यटन व्यवसायीहरूले कुबा डाइभिङ प्याकेज थपेर साहसिक पर्यटनसँगै आर्थिक चहलपहल बढाउन सक्छन् । स्कुबा डाइभिङ प्याकेज थपिएसँगै धार्मिक, प्राकृतिकसँगै साहसिक पर्यटनको चहलपहल एकैपटक हुनसक्छ ।

नदीहरूमा हुने गहिरो स्थानमा स्कुबा डाइभिङ गराउन ¥याफ्टिङ सेवा प्रदायकहरूले नेतृत्व लिन सक्छन् । तमोर, सुनकोशी, अरुणलगायतका प्रदेश १ का विश्वस्तरीय ¥याफ्टिङ नदीमा ¥याफ्टिङ सेवा दिँदै गर्दा अतिरिक्त सेवाको रूपमा स्कुबा प्याकेज समेटिन सक्छ । अथवा अफ सिजन व्यापारको लागि उनीहरूले सबैभन्दा गहिरो क्षेत्रमा यो प्याकेज बेच्न सक्छन् ।

स्कुबा उत्खननको प्राविधिक आधारः सशस्त्र प्रहरी
नेपालमा नागरिक स्तरका स्कुबा डाइभिङका जनशक्ति अत्यन्तै कम छन् । पोखराबाहेक लगभग सार्वजनिक रूपमा चिनिएका छैनन् भन्दा पनि हुन्छ । सशस्त्र प्रहरीसँग भने स्कुबा डाइभिङ गर्न सक्ने जनशक्ति छन् । ससस्त्र प्रहरीको प्रदेश स्तरीय मुख्यालय सुनसरीको इटहरीमा छ । त्यहाँ धेरै तालिमप्राप्त गोताखोरहरु छन् ।

जलउत्पन्न प्रकोपको उद्धारको लागि बङ्गलादेशलगायतमा पुगेर तालिमप्राप्त सशस्त्र प्रहरीका जनशक्तिहरूले स्कुबा डाइभिङको राम्रो खोज अनुसन्धान गर्न सक्छन् । अनुसन्धानले स्कुबा डाइभिङ हुन संभवना हुने क्षेत्रहरूमा नेपालका सशस्त्र प्रहरी तथा नागरिक जनशक्तिहरूका बिचमा प्रतिस्पर्धाका कार्यक्रमहरू ल्याउन सकिन्छ । प्रचार प्रसार गर्न सकिन्छ । नेपाली सेनाले प्याराग्याइडिङका नयाँ क्षेत्रको उत्खननमा नेतृत्व दिएजस्तै आफ्नो विभागीय क्षेत्रमा पर्ने जलजन्य साहसिक खेलको उत्खननमा सशस्त्र प्रहरीले नेतृत्व गर्न सक्छ । प्रदेश १ सरकार वा स्थानीय सरकारसँग मिलेर गहिरा नदी, ताल तथा पोखरीहरूमा स्कुबा डाइभिङको उत्खनन, खोज तथा सञ्चालनमा सशस्त्र प्रहरीले नेतृत्व लिन सक्छ ।

सशस्त्र प्रहरीले स्कुबा डाइभिङको संभावना हुन सक्ने क्षेत्रका स्थानीय युवाहरूलाइ क्षमता अभिवृद्धि तथा तालिम दिएर स्थानीय जनशक्ति उत्पादनमा सहयोग गर्न सक्छ । वैदेशिक रोजगारका क्रममा विदेशमा हुँदा स्कुबा डाइभिङ सिकेकाहरूले पनि यसतर्फ योगदान गर्न सक्छन् । ¥याफ्टिङ, प्याराग्याइडिङ जस्तो धेरै प्राविधिक खर्च नहुने स्कुबा डाइभिङ सञ्चालन भएमा प्रदेश १ को साहसिक पर्यटन क्षेत्रमा एउटा नयाँ प्याकेज थपिनेछ । र, फ्रेसवाटर स्कुबा डाइभिङको विश्व म्यापमा नयाँ क्षेत्रको रूपमा प्रदेश १ उदाउने सम्भावना छ । तर, त्यसको लागि सामान्य लगानी र दक्ष जनशक्ति उत्पादनको खाँचो देखिन्छ ।

[email protected]

pp