सुनसरी । सुनसरी र मोरङका विद्यालयका विद्यार्थीहरु बीच आयोजना गरिएको अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता इटहरी २ हवाई चौक स्थित क्रिम्सन एकेडेमीमा सम्पन्न भएकोछ ।

सुनसरी र मोरङका झण्डै एक दर्जन बढी विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा मोरङको देउराली स्कुल पहिलो भएको थियो । शनिबार सम्पन्न सो प्रतियोगितामा देउरालीले ५ स्वर्ण सहित ४ रजत र २ कास्य पदक जितेको थियो । यस्तै इटहरीको कविर माविले ५ स्वर्ण र एक रजत सहित सहित दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगितामा बालसदन विराटचौकले एक स्वर्ण र तीन रजत सहित तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा भएको दुई जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको आयोजना क्रिम्सन तेक्वान्दो डोजाङले गरेको
थियो । क्रिम्सन एकेडेमीको व्यवस्थापन तथा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको प्राविधिक सहयोगमा भएको प्रतियोगिताका विजेतालाई उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले पुरस्कार प्रदान गरेका थिए । विभिन्न १० केजी समुहमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट फाइटरको उपाधी कविर माविका नविन पोख्रेलले पाए भने छात्रा तर्फ देउरालीकी सिना तामाङले प्राप्त गरेकी थिइन् ।