सुनसरी/ विश्वआदर्श एकेडेमीको आयोजनामा आइतबारदेखि जुनियर फुटबल प्रतियोगिता शुरु भएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आइतबार भएको उद्घाटन खेलमा आयोजक विश्वआदर्श स्कुल र ज्ञानदर्पण एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा विश्वआदर्शले बिकेजी स्कुललाई ५–० गोलले पराजित गरेको हो । विश्व आदर्शको लागि कप्तान अर्पित राईले खेलको ११, १९ र ३८ औं मिनेट गोल गरी ह्याट्रिक पूरा गरे । थप गोल सौरव कार्की र प्रमोद भट्टराईले गरेका थिए । प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका कप्तान अर्पित राई म्यान अफ द म्याच घोषित भए ।

यसै गरी दोस्रो खेलमा ज्ञानदर्पण एकेडेमीले पूर्वाञ्चल स्कुललाई २–० गोलको अन्तरले विजयी यात्रा शूरु गरेको आयोजकले जनाएको छ । खेलको ९ औं मिनेटमा प्राञ्जल घोर्सानले गोल गरी ज्ञानदर्पणका लागि अग्रता दिलाएका थिए भने दोस्रो गोल उनैले खेलको २९ औं मिनेटमा गरेका थिए । खेलको म्यान अफ द म्याच कप्तान फेनचेज राई घोषित भएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद १० हजार तथा उपविजेताले ५हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् । कक्षा ५ सम्मका छात्रहरू प्रतियोगितामा सहभागी रहेका छन् ।

माघ २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । विद्यालयले खेल सप्ताह अन्तर्गत तेक्वान्दो, एथलेटिक्स बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस र योगा, नृत्यलगायतको प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल फुटबल सङ्घका केन्द्रीय मानार्थ उपाध्यक्ष तथा प्रदेश एक फुटबल सङ्घका अध्यक्ष किशोर राईले गरेका थिए ।

एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । विद्यार्थीहरूको शारीरिक, मानसिक, संवेगात्मक विकास, प्रतिस्पर्धात्मक भावनाको विकास गराउनुका साथै अनुशासित र मर्यादित जीवनशैलीलाई अपनाउन सिकाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको विश्वआदर्श एकेडेमी प्रिन्सिपल गणेश दुलालले बताए ।