इटहरी/ निजी संस्थाले बिहानभरि लगाएर सङ्कलन गरेको फोहोर ट्याक्टरमै थन्किएपछि इटहरी दुर्गन्धित भएको छ । तीन दिनदेखिको फोहोर नफाल्दा समस्या उत्पन्न भएको हो । इटहरी उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नगर्दा फोहोर सङ्कलन गरेर पनि फाल्न नपाएको निजी संस्थाले जनाएको छ ।

लोड गरेको फोहोर फाल्ने ठाउँ नपाएपछि ट्याक्टरमा सङ्कलित फोहोर इटहरी उपमहानगरपालिका प्राङ्गणमा राखिएको छ । फोहोर लोड गरेका ट्याक्टर रातभर त्यहीँ रहेका छन् । लामो समयदेखि फोहोर फाल्दै आएको ठाउँ चारकोसे झाडीमा विवाद बढेपछि अहिले फोहोर फाल्ने ठाउँ नहुँँदा फोहोर उठ्न नसकेको हो ।

वेस्ट एण्ड इन्भारोम्यानेजमेण्टका व्यवस्थापक भरत गिरीले फोहोर फाल्ने ठाउँको व्यवस्था गर्ने सम्झौता उपमहानगरपालिकासँग गरेको भए पनि अहिलेसम्म ठाउँ नदिँदा समस्या भएको बताए । ‘सम्झौताअनुसार उपमहानगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्थापन नगर्दा हामीले फोहोर फाल्न पाएका छैनौँ’ गिरीले भने, ‘तीन दिनदेखि बिहानभरि ट्याक्टरमा फोहोर लोड गरे पनि फाल्न नपाएर ट्याक्टरमै राखिएको छ ।’

दिनभरि दौडँदा पनि फोहोर फाल्ने ठाउँ नपाएपछि फोहोर लोड गरेको ट्याक्टर आपबगियामा राखिएको छ’ व्यवस्थापक गिरीले भने, ‘फोहोर फाल्ने ठाउँ नहुँदा साह्रै दुःख पाएका छौं । हामीलाई स्थानीय सरकारले ठाउँ उपलब्ध गराएको छैन, फोहोर कहाँ फाल्ने ?’

इटहरी उपमहानगरपालिका वातावरण शाखाका पुष्प चौधरीले तत्कालको लागि फोहोर यथावत् रूपमा फालिने बताए । इटहरी उपमहानगरपालिकाले ठाउँ उपलब्ध गराउन नसकेका कारण केही समस्या आएको उनको भनाइ थियो । अहिले फोहोर फाल्दै आएको ठाउँमा तत्काल आगो लाग्न नदिने र अहिले त्यहीँ फाल्नुको विकल्प नभएको चौधरीको भनाइ थियो ।

इटहरी उपमहानगरपालिकाको दैनिक ३५ टन फोहोर जङ्गलमै लगेर फालिन्थ्यो । घर र अस्पतालबाट निस्किएको फोहोरसमेत जङ्गलमै लगेर फाल्ने फोहोर यतिबेला लामो समयदेखि जङ्गलमा जथाभावी फाल्दा इटहरी –१९ का सर्वसाधारणलाई असर पारेको भन्दै स्थानीयले विरोध गरेपछि बन्द भएको छ । २० वर्षका लागि इटहरी उपमहानगरले नै २०७५ वैशाख १४ गते सम्झौता गरे पनि अझैसम्म प्रशोधन केन्द्र बन्न सकेको छैन । उपमहानगरपालिकाले काम सम्पन्न गराउने भन्दा पनि पटक–पटक म्याद थप्ने गरेकाले अहिलेसम्म पनि इटहरीको फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको छ ।

काम सम्पन्न गराउनुको सट्टा इन्भारोलाई उपमहानगरले मासिक ३ लाख रुपैयाँ फोहोर व्यवस्थापनको लागि दिँदै आएको छ । ल्याण्डफिल्ड साइड उपलब्ध नराउञ्जेल चारकोसे झाडीमा फोहोर फाल्दै आएको र फोहोरबाट कवाडी सामान टिप्ने सडक बालबालिकाले आगो लगाउने समस्या भएको उनले बताए । जङ्गलक्षेत्रमा आगो लगाउँदा गाउँमा धुवाँ पसेको कारण फोहोर फाल्न रोक लगाउँदा फोहोर नउठेको उनको भनाइ थियो ।

तीन दिनदेखि फोहोर उठेन
लामो समयदेखि फोहोरको विषयमा विवाद हुँदै आएको इटहरी उपमहानगरपालिकामा पुनः फोहोरको विवाद शुरु भएको छ । फोहोर फाल्ने ठाउँ नभएको भन्दै तीन दिनदेखि इटहरी बजार तथा आसपासको फोहोर नउठ्दा दुर्गन्धित भएको छ । इटहरी उपमहानगरपालिका –२० मा सोमबार लागेको बजारको फोहोरसमेत अहिलेसम्म नउठ्दा समस्या भएको बिहीबार व्यापार गर्न आएका रामकुमार यादवले बताए ।

‘बजारमा फोहोरको थुप्रोमाथि व्यापार गर्न बाध्य भइयो’ –उनले भने । लामो समयदेखि इटहरी–१० डुमाटकमा निर्माणाधीन ल्याण्डफिल्ड साइडको राम्रो व्यवस्थापन नगर्दा समस्या हुँदै आएको छ । करोडौं लगानीमा निर्माण भएको उक्त ल्याण्डफिल्ड साइड भने अहिले बेवारिसे अवस्थामा छ । तर फोहोर फाल्ने ठाउँ नभएको भन्दै बेला–बेला फोहोर उठाउने कम्पनी र इटहरी उपमहानगरपालिकाबीच विवाद हुने गरेको छ ।