धरान /  पानवारी भलिबल कपको पाँचौ संस्करणको उपाधी बाँझगरा भलिबल क्लबले हातपारेको छ ।  शनिबार धरान–६ स्थित सिमल चौरी खेल मैदानमा भएको फाइनल खेलमा सुन्दरहरैचा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसँगै बाझगराले नगद ७५ हजार र ३५ तोला चाँदीको रनिङ ट्रफि हात पारेको छ । उप विजेता भएको सुन्दरहरैचाले नगद ४१ हजार र ट्रफी पाएको छ ।
खेलमा बझगराले २५–१८, १५–२५, २५–१९ र २५–१९ ले खेल आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच बाझगराका विवस आले घोषित भए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पनि विजेता टिमकै मिलन चन्द ठकुरी घोषित भए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्स सुन्दरहरैचाका रवि सेन्चुरी, उत्कृष्ट ब्लकर बाझगराका सुरज चौधरी, उत्कृष्ट लिफ्टर सुन्दरहरैचाका घनश्याम गुरुङ र उत्कृष्ट स्पाइकर सुन्दरहरैचाका योकेन्द्र गुरुङ घोषित भए ।
प्रतियोगिताको विजेता उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथी एक नं. प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी तथा आयोजक सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले पुरस्कार वितरण गरेका थिए ।