धरान/ बाँझगरा भलिबल क्लब र सुन्दरहरैंचा नगरपालिकाको टिम पाँचौं पानबारी भलिबल कपको उपाधि होडमा उभिएका छन् ।

बिहीबारको सेमिफाइनलमा खेलहरूबाट विजेता बन्दै दुई टिम उपाधिका लागि भिडन्त गर्ने भएका हुन् । धरान–६ स्थित सिमलचौरीको भलिबल कोर्टमा सम्पन्न खेलमा तरहराको जयमहादेव भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै बाँझगरा उपाधि नजिक पुगेको हो । बाँझगराले २५–२३, २५–२१, २२–२५ र २५–२० को सेटमा जयमहादेवलाई हराएको हो । खेलको म्यान अफ दी म्याच जयमहादेवका रविन गौतम घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाण–पत्र पाए ।

बिहीबारै भएको अन्तिम सेमिफाइनल खेलमा प्रदेश १ प्रहरी रानीलाई ३–० को सोझो सेटमा सुन्दरहरैंचाको टिमले हराएको हो । प्रहरीलाई २५–२३, २५–१८ र २५–१८ को सोझो सेटमा हराएको हो । खेलको म्यान अफ दी म्याच एक नम्बर प्रदेश प्रहरी रानीका क्याप्टेन प्रदीपकुमार श्रेष्ठ घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ पाए ।

प्रतियोगिता विजेताले नगद ७५ हजार र ३५ तोला चाँदीको रनिङ ट्रफी पाउनेछ । त्यस्तै उपविजेताले नगद ४२ हजार रुपैयाँ पाउने आयोजक सयपत्री बोइज युनियन क्लबका उपाध्यक्ष विश्वजित राईले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार र विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँ पाउने उपाध्यक्ष राईले जानकारी दिए ।

फाइनल शनिबारः
सुन्दरहरैंचा नगरपालिका टिम र बा“झगरा भलिबल क्लब