धरान/ धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको यो सिजनको उपाधि स्थानीय प्रो. बलभद्र राईले जितेका छन् ।

उनले शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडि पार्दै बिहीबार सूर्य नेपाल गल्फ टुर २०१९/२० सिजनको दोस्रो प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । उनले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ र ट्रफी हात पारे । राईका लागि यो उपाधि होम ग्राउण्डमा पहिलो हो भने करिअरको दोस्रो उपाधि हो ।

यसअघि उनले वेस्टर्न ओपन टुर २००८÷०९ को उपाधि जितेका थिए । उनले निर्वाणा कण्ट्री क्लबको गल्फ कोर्षमा तेस्रो तथा अन्तिम दिन ३ अण्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अण्डर २ सय १ को स्कोर बनाए । उनले पहिलो दिन १ अण्डर ६९ र दोस्रो दिन ५ अण्डर ६५ स्कोर जोडे । अन्तिम दिनको खेलमा फ्रण्ट नाइनको चौथो होलमा बोगीसहित १ ओभर ३७ खेले । ११ औं, १६ औं, १७ औं र १८ औं होलमा उत्कृष्ट पट गर्दै बर्डी गरेका उनले ब्याक नाइनमा ४ बर्डीसहित ४ अण्डर ३० स्कोर बनाए ।

शिवरामले अन्तिम दिन दिन ६ अण्डर ६४ स्कोरका साथ दोस्रो स्थान हासिल गर्दै नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । शुरुका पहिलो र दोस्रो दिन औसत प्रदर्शन गरेका उनले फ्रण्ट नाइनमा २ अण्डर ३४ तथा ब्याक नाइनमा ४ अण्डर ३० स्कोरमात्र । एमेच्योरतर्फ निरज तामाङले १ ओभर ७१ स्कोर जोड्दै समग्रमा ४ अण्डर २ सय ६ स्कोरसहित उपाधि जिते । एमेच्योरतर्फकै शुक्रराज राई १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो बने । तेस्रो बनेका सुन्दर राईले १५ ओभर २ सय २५ स्कोर जोडे ।

समग्रमा व्यवसायिक गल्फर शुक्रबहादुर राईले आफूलाई तेस्रो बनाउँदै ५५ हजार रुपैयाँ हात पारे । एक समय उपाधिका दाबेदारका रूपमा रहेका शुक्रले तेस्रो होलमा इगल प्रहार गरे पनि त्यसपछि लगातार चार होल बोगी खेपेका थिए । उनले समग्रमा १ ओभर २ सय ११ स्कोर बनाए ।

चौथो बनेका धनबहादुर थापाले नगद ४५ हजार रुपैयाँ पाए भने संयुक्त पाँचौं स्थानमा शिवकुमार माझी र सूर्यप्रसाद शर्मा रहे । उनीहरूले जनही ३५ हजार ५ सय रुपैयाँ पाए । सातौं स्थान हासिल गरेका दिनेश प्रजापतिले नगद ३१ हजार रुपैयाँ पाए । संयुक्त आठौं स्थानका जयराम श्रेष्ठ र रवि खड्काले जनही २८ हजार रुपैयाँ पाए भने दशौं बनेका सञ्जय लामा र दीपक मगरले नगद २३ हजार २ सय ५० रुपैयाँमा चित्त बुझाए ।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालकिशन गुरुङ, धरान उपमहानगरपालिकाका मेयर तथा नेपाल गल्फ सङ्घका उपाध्यक्ष तिलक राईलगायतले शीर्ष २४ स्थानमा रहेका व्यवसायिक खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । आज (शुक्रबार) सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यवसायिक गल्फर सङ्घको आयोजनामा प्रो–एम इभेण्ट हुँदैछ ।