सङ्खुवासभा/ खाँदबारी–९ को यसोधा आयलका सञ्चालक उत्तम कटुवाललाई इन्धन कालोबजारी गरेको भन्दै मुद्दा चलाएपछि पेट्रोलियम डिलर्स एसोसिएसन संरक्षणमा लागेको छ ।

एसोसिएसनले आइतबार नयाँ मूल्य निर्धारण गरेर गत साउनदेखि पटक–पटक तोकेको मूल्यमा प्रिण्ट मिस्टेक भएको भन्दै कालाबजारीको संरक्षण गर्न खोजेको हो । एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा पुस ५ गते जारी भएको पत्रमा साउन २२, भदौ २४, मङ्सिर १७, पुस २, पुस १७ मा जारी गरिएको मूल्य सूचीमा भुलवश राखिएको उल्लेख छ । भुलवश गल्ती प्रिण्ट भएकाले सूचीबाट हटाइएको भन्ने उल्लेख गरेको छ । उपभोक्ताले भने पेट्रोलियम डिलर्स एसोसिएसन कालोबजारीको संरक्षणमा लागेको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले यसोधा आयलका सञ्चालक कटुवालविरुद्ध कालोबजारीको मुद्दा चलाएपछि ढाकछोप गर्दै कालोबजारीको पक्षमा डिलर्स एसोसिएसन देखिएको हो । अहिले एसोसिएसनले ढुङ्गे बिसौनी भन्ने स्थानको पम्पको ठेगाना हटाएर खाँदबारीमै गाभेको छ भने मूल्य पनि खाँदबारीकै राखेको छ । अब उपभोक्ताले डिलर्स एसोसिएसन विराटनगरले उपलब्ध गराएको मूल्यअनुसार प्रतिलिटर डिजेल र पेट्रोलमा २५ पैसा बढी तिर्नु पर्नेछ । डिलर्स एसोसिएसनले कालोबजारीको संरक्षण गरेर उपभोक्तालाई ठग्ने काम गरिरहेको गुनासो स्थानीयको छ ।

जिल्ला प्रशासनले पुस १७ मा डिलर्स एसोसिएसन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोपमा ७ दिनको म्याद थपेर कारबाही अघि बढाएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । पम्पले डिलर्स एसोसियसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिएको गुनासो उपभोक्ताले गरेपछि प्रशासनले कटुवालविरुद्ध कालोबजारीको मुद्दा चलाएको हो ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गत पुस १७ मा जारी भएको मूल्यअनुसार प्रतिलिटर १ सय १४ रुपैयाँ ६५ पैसामा पेट्रोल र १ सय ३ रुपैयाँ ६५ पैसामा डिजेल बिक्री गर्नु पर्नेछ । तर, कटुवालले पेट्रोल १ सय १४ रुपैया ९० पैसा र डिजेलमा प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएको उपभोक्ताको दाबी छ । कटुवाललाई ३ वर्षअघि पनि पेट्रोलियम पदार्थमा मूल्य बढी लिएको आरोपमा मुद्दा चलाएको थियो ।