धरान/ सूर्य नेपाल इस्टर्न ओपन गल्फ टुर धरानको निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा मङ्गलबारबाट शुरु भएको छ ।

पार ७० को कोर्षमा गृहनगर धरानका उदीयमान एमेच्योर गल्फर निरज तामाङले ६ अण्डर ६४ खेल्दै पहिलो दिन शीर्षस्थानमा रहे । यो वर्ष नेपालका नम्बर वानमा उक्लिएका प्रो.गल्फर भुवन नगरकोटीभन्दा ११ अण्डर खेलेका तामाङले हालै प्रोटर्न गृहनगरकै शुक्रबहादुर राईभन्दा ३ अण्डर खेल्न सफल भए ।

पहिलो दिन गृहनगरकै गल्फरहरूले अण्डर खेलेर नयाँ रेकर्ड पनि बनाएका छन् । तामाङले फ्रन्ट नाइनमा ५ अण्डर ३१ खेल्दा ब्याक नाइनमा १ अण्डर ३३ खेले । उनले फ्रण्ट नाइनको २, ३, ५ र ७ औंब होलमा बर्डी गर्दा ब्याक नाइनको १२ औं, १४ औं र १६ औं होलमा पनि बर्डी गरे । तर, १५ औं र १८ औं होलमा बुगी खेपे ।

यता साविक विजेतासमेत रहेका प्रोटर्न राईले ३ अण्डर ६३ कार्ड बनाउँदा गृहनगरकै प्रो गल्फर बलबहादुर राईले १ अण्डर ६९ खेले । अघिल्लो वर्षसम्म नम्बर वान गल्फर रहेका प्रो.शिवराम श्रेष्ठ १ ओभर ७१ खेले । श्रेष्ठसँग प्रो. दिनेश प्रजापति र रमेश अधिकारीले टाइ गर्न सफल रहे ।

प्रोटर्न राईले फ्रण्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाउँदा व्याक नाइनमा २ अण्डर ३२ खेले । पहिलो होलबाट बुगी खेलेर खराबी शुरुवात गरे पनि दोस्रो, पाचौं, छैठौं र नवौं होलमा बर्डी गरे । चौथो र सातौं होल बुगी खेपे पनि दशौं, बाह्रौ र अठारौं होल बर्डी गर्न सफल रहे । सोह्रौं होलमा बुगी खेपे ।

गृहनगरकै प्रो.शिवकुमार माझी, सञ्जय लामा र दीपक मगर पनि २ ओभर ७२ कार्ड बनाउँदै टाइ गरेका छन् । प्रो. विनोद तामाङ, विपिन तामाङ, एमेच्योर सुन्दर राई, कृष्णमान राजबाहक, सुनिल केसी र धनबहादुर थापाले ३ ओभर ७३ कार्ड गर्दै टाइ गरे । नम्बन वान प्रो.भुवन नगरकोटी शीर्ष आठमा स्थान बनाएका छन् । उनले ५ ओभर ७५ कार्ड बनाएका छन् । सूर्य इस्र्टनमा ६ जना प्रोटर्नहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसपटक धरानमा ३४ प्रोहरू आपसमा उपाधिका लागि भिडन्त गरिरहेका छन् । यसअघि ३१ जना प्रोहरूबीच स्पर्धा हुँदै आएको थियो । यस वर्ष मात्रै देशभरबाट ८ जना प्रोटर्न भएको अफिसियल रामजी राजवाहक बताउँछन् । तर, प्रो. र एमेच्योर गरी यसपटक ५० जना मात्रै सूर्य नेपाल इस्टर्नमा भिडन्तमा छन् । यो गत वर्षभन्दा ४ जना कम हो । कुल ५४ होलको खेलमा दोस्रो दिन २४ प्रो र ६ एमेच्योर गल्फर मात्रै तेस्रो दिनका लागि भिडन्त गर्न पाउनेछन् । दोस्रो दिन १० प्रो र १० एमेच्योर कटआउट हुनेछन् । शुक्रबार प्रो–एम खेल हुनेछ ।