देउराली । नेपालमा पशुकल्याण तथा मानव अधिकारका लागि काम गरिरहेका ५० भन्दा बढी सङ्घसंस्थाहरूले अष्ट्रेलियाको विनाशकारी डढेलोबाट प्रभावितहरूप्रति समवेदना प्रकट गरेका छन् ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पटेर बुडलाई भेटेर अष्टेलियामा फैलिएको विनाशकारी डढेलोबाट प्रभावित पशुपंक्षीप्रति मङ्गलबार समवेदना प्रकट गरेका हुन् । पशुकल्याण तथा मानव अधिकारको क्षेत्रमा कार्यरत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित धार्मिक संस्थाका प्रतिनिधिहरूले डढेलोबाट जनावरहरूलाई बचाउनुका साथै र प्रभावितहरूलाई तत्काल हेरचाह गरेकोमा अष्ट्रेलियन सरकार तथा नागरिकहरूमा धन्यवाद ज्ञापन गरे ।

सबैै घाइते तथा आश्रयबिहीन जनावरहरूलाई दीर्घकालीन सहयोग उपलब्ध गराउन राजदूत बुडमार्फत् अष्ट्रेलियन सरकारलाई अनुरोध गरेका छन् । अष्ट्रेलिया सरकारले वन्यजन्तु तथा अन्य जनावरलाई संरक्षण गर्न आफ्नो वातावरणसम्बन्धी कानूनलाई सुदृढीकरण गर्दै जलवायु परिवर्तनका क्षेत्रमा सकारात्मक कदम चाल्न प्रतिनिधिहरूले सुझाव दिए ।

बैठकमा पशुकल्याणमा कार्यरत संस्थाहरूले पानीको बढी उपभोग गरेर १० हजार ऊँट मार्ने अष्ट्रेलियन सरकारको योजना भत्र्सना योग्य रहेको भनी ध्यानाकर्षण गराए । राजदूत बुडले विनाशकारी डढेलोबाट लाखौं जनावरको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै डढेलोका कारण कतिपय जनावरहरू लोपोन्मुख तथा सङ्कटापन्न अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे ।

राजदूत बुडले डढेलोले वातावरण तथा जैविक विविधतामा परेको असरबारे अनुसन्धान हुने जानकारी गराए । उनले अअष्ट्रेलियाको दुःखमा साथ तथा सद्भाव दिन पुगेका सङ्घसंस्थाहरूका प्रतिनिधि मण्डललाई धन्यवाद दिए ।