बिर्तामोड/ आफूहरू सिआइबी प्रहरी रहेको भन्दै व्यापारीहरूसँग रकम असुल्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको राजगढबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राजगढ बजारमा व्यापार गर्दै आएका अरफाक आलमसँग ७ हजार रुपैयाँ असुल गरिरहेको समयमा उनीहरू पक्राउ परेका थिए ।

गौरीगञ्ज गाउँपालिका–१ का पर्शुराम महतो र सोही गाउँपालिका–३ का जीवन दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यापारीसँग असुल गरेको रकमसहित उनीहरूलाई पक्राउ गरेको डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूमाथि अनुसन्धान भइरहेको उनले बताए ।