लक्ष्मीमार्ग/ मोरङको बेलबारी–९ डाँगीहाटका युवा व्यवसायीहरूले अण्डाबाटै मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी लिइरहेका छन् ।

युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, नगेन्द्र अधिकारी, जितेन्द्र दाहाल, बिष्णु बस्नेत र गोविन्द अधिकारीले फर्म सञ्चालन गर्दै अण्डा उत्पादन गरिरहेका हुन् । उनीहरूले मिर्मिरे एग्रो प्रालि नामक फर्म दर्ता गरेर लेयर्स कुखुरा पालन गरिरहेका छन् । व्यवसायीमध्येका बास्कोटा पूर्व माओवादी नेतासमेत हुन् ।

शान्ति प्रक्रियापश्चात् राजनीतिलाई थाती राख्दै जीवन गुजारा गर्न उनी विदेशसमेत भासिए । करिब ढेड दशकसम्म विदेशमा बिताएर फर्किएपछि उनीसहित साथीहरू मिलेर अण्डा दिने कुखुरा पालन गर्न थालेका हुन् । अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ । उनीहरूले १० कठ्ठा जमिन लिजमा लिएर लेयर्स पालन गर्दै आइरहेका छन् ।

उनीहरूले त्यसका लागि १० करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् । तीन हजार खुकुरा पालन गरेका छन् । तीनवटा आधुनिक खोर निर्माण गरेका छन् । तीन हजार कुखुराबाट करिब २ हजार ७ सय अण्डा उत्पादन हुने गरेको बास्कोटाले बताए । उनका अनुसार ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत गर्दै आइरहेका छन् । उनले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएका छन् ।

फर्ममा उनीसहित थप तीन जनालाई रोजगारी दिएका छन् । उनीसमेत खटिन्छन् । बास्कोटाले मासिक ३५ हजार कमाई गर्ने गरेको उनी बताउँछन् । एक वर्षअघिदेखि शुरु गरिएको फर्म केज प्रविधिबाट कुखुरा पालन गरेका छन् । यसमा दानासमेत कम खपत हुने अर्का लगानीकर्ता राजु डाँगीले बताए । उनले चालू आर्थिक वर्षभित्रै २० हजार कुखुरा पु¥याउने लक्ष्य लिएको बताए । त्यसका लागि संरचनासमेत निर्माण गरिरहेको बताए । यहाँ उत्पादन हुने मल विशेषगरी धनकुटाको हिले र सिधुवा क्षेत्रमा बढी माग हुने गरेको बास्कोटा बताउँछन् ।