धरान/ नेपाल पर्यटन वर्ष २०२० सँगै कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जयन्तीको अवसरमा धरानस्थित कवि शिरोमणि साहित्य साधना समाजद्वारा शनिबार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा इटहरीका योगेन्द्र पराजुलीको ‘धन’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

पराजुलीले नगद ११ हजार र प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पर्वत जिल्लास्थित विहादी बस्ने तारानाथ पराजुली द्वितीय हुँदै ‘मेरो देश’ शीर्षक कवितामार्फत् नगद ७ हजार हात पारे ।

स्याङ्जाका सत्कार रेग्मीले ‘स्वर्गसरी मेरो देश’ कविता सुनाउँदै तृतीय भई नगद ५ हजार पाए भने महेन्द्रनगर कञ्चनपुरका डा.नवीन भट्टले सान्त्वना पुरस्कार पाए । डा. भट्टले ‘रारा’ शीर्षकको कविता सुनाउँदै पुरस्कार स्वरूप नगद ३ हजार पाए । समाजले पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका पर्यटकीय स्थलहरूको कलात्मक वर्णन र व्याख्या गरिएका कविता, रचना गर्न दुई महिनाअघि नै राष्ट्रव्यापीरूपमा आह्वान गरेको थियो । समाजका सचिव डा. महानन्द तिमिल्सिनाले प्रतियोगितामा मुलुकभरिका पाँच सय बढीले कविता पठाएका थिए । तीमध्ये १५ उत्कृष्ट कविता छनौट गरिएको थियो ।

उक्त अवसरमा नेपाली कविता साहित्य लेखनमा सशक्त कवयित्री इटहरीकी टीका आत्रेयलाई १० हजार रुपैयाँको प्रा. टीकाप्रसाद शर्मा वस्ती पुरस्कारले सम्मानित गरियो । नगद १० हजारकै साहित्यकार सिद्धिकर्ण भागिरथी शर्मा पुरस्कार सारा थापा स्मृति प्रतिष्ठानलाई र नगद १० हजारको वराह ज्वेलरी इण्डष्ट्रिज दलित स्रष्टा पुरस्कार कवि मिलन साह शङ्करलाई प्रदान गरिएको थियो । पुरस्कृत विजेता कवि साहित्यकारहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश १ का पूर्व प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, समाजका अध्यक्ष सिद्धिकर्ण शर्मालगायतले पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।