मधुमल्ला ।  झापाको बाहुनडाँगी देखी पश्चिमको डढेलधुरा सम्म जोडने मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियामा मोरङको मिक्लाजुङ खण्डमा बस्ती बाइपास गरी सडक निर्माण कार्य अगाडी बढाउन लागेको भन्दै सो को बिरुद्धमा प्रतिकार समिति गठन हुने भएको छ । बस्ति बाइपास गरेको बिरुद्ध गर्दै पौष १२ गते मिक्लाजुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालयमा सार्वजनिक सुचना सहितको एक भेलाको आयोजना गरिने भएको छ ।

सोही भेलाले मदन भण्डारी राजमार्गले बस्ति बाइपास गरेको बिरुद्ध संर्घष समिति गठन गर्ने मिक्लाजुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र मादेनले बताए । परियोजनाले डिपिआर तयार गरेको क्षेत्रबाट निर्माण परियोजना अगाडी बढाउँदा यसले बनविनाश हुने निम्त्याउने बताए ।

यस अघि मिक्लाजुङ गाउँपालिकाले पनि सडक परियोजना गलत स्थान बाट अगाडी बढाइएकाले नक्सा परिमार्जन गर्न मदन भण्डारी राजमार्ग परियोजना लाई लिखित उत्तर पठाई सकेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । मानब बस्तिलाई नछुटाई उक्त राजमार्ग निमार्ण गर्न सुझाब पठाईएको अध्यक्ष आचार्यले बताए । मदन भण्डारी राजमार्ग आयोजनालाई गउँपालिकाले बातावरणीय परिक्षण प्रतिवेदन आईइ का सम्बन्धमा लिखित उत्तर पठाएको छ ।

लिखीत उत्तरमा मोरङको मिक्लाजुङ गाउँपालिकाले लेटाङको जाँते मदन चोक हुँदै मिक्लाजुङको वडा नं. ५ धानखेती–चण्डालचोक, कालिझोर, सुन्दरी चोक हुँदै बक्राहा नदिको पुल जोडने गरी राजमार्ग निर्माण प्रक्रिया अगाडी बढाउँदा उपयुक्त हुने सुझाब दिएको छ ।

यस अघि मदन भण्डारी राजमार्ग परियोजनाले मिक्लाजुङको धानखेती, माने हुदै मावा खोलाको पुलमा जोडने गरी डिपिआर गरेको बताईएको छ । परियोजनाले डिपिआर गरेको क्षेत्रबाट राजमार्ग निर्माण गर्दा व्यापकरुपमा वन फडानीहुने र त्यसले बातावरणीय पर्यावरण साथै जिवजन्तुको बासस्थानमा समेत ठुलो असर पर्ने भन्दै त्यसको मिक्लाजुङ क्षेत्रमा चर्काे बिरोध भइरहेको छ ।