संखुवासभा । जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाले स्थानीयलाई उपेक्षा गरेको उनीहरूले आराेप लगाएका छन । आयोजनाका प्रभावित क्षेत्रका स्थानीयलाई उपलब्ध गराईने मुआब्जा उपलब्ध नभएको र सोहीको मागमा स्थानीयहरु आन्दाेलित भएका छन् । छ्याङ्कुटीदेखि २४.५ किमीमा रहेको २ सय बढि घरधुरीले मुअब्जा पाउनु पर्ने माग गर्दै बिहिबारबाट चरणबद्ध आन्दोलनमा स्थानीय उत्रिएका हुन् ।

अरुण तेश्रो प्रवेश मार्ग मुआब्जा पीडित समिति गठन गरेका उनीहरुले बिहिबारदेखि अरुण तेस्रो प्रवेश मार्गमा सडक बन्द गरेका हुन् । छ्याङ्कीटीदेखि पुखुवासम्मको २४ किलोमिटरको सडकको मुआब्जा स्थानीय नागरिकहरुले नपाएको भन्दै संघर्ष समिति नै गठन गरेर विभिन्न समयमा आन्दोलन गर्दै आएको उनीहरुले बताएका छन् । पटक पटक मुआब्जाको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाई नभएको भन्दैं माग पुरा नभएसम्मको लागि पुखुवाजाने सडक बन्दगर्न लागिएको संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए ।

खाँदबारी नगरपालिकामा पर्ने छ्याङ्कुटीबाट दिदिङ हुँदै पुखुवा दोभान जाने सडक ठप्प गरिएको संयोजक राईले बताएका छन् । त्यस तर्फ जानको लागि प्रेस र एम्बुलेन्स बाहेकका सम्पुर्ण सवारी साधनहरु बन्द गरिएको बताईएको छ । त्यस क्षेत्रमा दैनिक ५० भन्दा बढी सवारी साधनहरु चल्ने गर्छ । त्यही सडक मार्ग हुँदै अरुण तेश्रोसँग सम्बद्ध संस्थाहरुको सवारी साधन पनिआवत जावत गर्दै आएका छन् ।