धरान/‘एक घर, एक कफी’ को अवधारणासहित धरान कफी तथा कृषि उद्यम केन्द्रले सोमबार कफीको बिरुवा वितरण गरेको छ ।

धरान–१५ सुवेदी टोलबासीलाई गार्डेन कफी खेती गराउने अभिप्रायले बिरुवा वितरण गरिएको केन्द्रकी संयोजक अञ्जना राईले जानकारी दिइन् । त्यसक्रममा सुवेदी टोलका करिब ६० जना महिलालाई गार्डेन कफी खेतीबारे प्रशिक्षणसमेत प्रदान गरिएको छ । प्रशिक्षणपश्चात् उनीहरूलाई कफीको बिरुवा वितरण गरिएको हो ।

वातावरण र माटोको दृष्टिकोणका हिसाबले धरानमा गार्डेन कफी खेती गर्न सकिने भएकाले बिरुवा वितरण गरिएको संयोजक तथा महिला उद्यमी राईले बताइन् । तालिममा सहभागीहरूलाई निर्देशक राईसहित मिस स्टेट वानकी रजनी तुम्साले सहजीकरण गरिन् । सुवेदी टोलका सुनौलो बाल संरक्षण आमा समूहलाई तालिम प्रदान गरिएको हो । तालिमको संयोजक सावित्री इङ्वारमले कफीको बिरुवा ४ वर्षभित्रै फल फलाउन सकिने बताइन् ।