विराटनगर/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राज्यले प्रदान गरिने कृषि अनुदानलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने बताएका छन् ।

प्रदेश सरकारबाट हालै पारित भएको कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि २०७६ पनि स्वीकृत भइसकेकाले राज्यले प्रदान गरिने कृषि अनुदानलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् । कृषि विकास निर्देशनालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय १ नम्बर प्रदेशले विराटनगरमा बुधबार आयोजना गरेको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठीको समापन सत्रमा बोल्दै मुख्यमन्त्री राईले अनुदानसँग सम्बन्धित कार्यक्रमलाई रिर्सच गरेर प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताए ।

‘प्रदेश सभामा संसद, विषयगत समिति, अन्य विज्ञहरूको उपस्थितिमा लामो समयसम्म चलेको छलफलपछि एकीकृत कार्यविधि तर्जुमा भएको छ,’ मुख्यमन्त्री राईले भने, ‘कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधि प्रदेश सरकारबाट स्वीृकत भइसकेको छ । राज्यबाट हुने अनुदानलाई प्रभाकारी कार्यान्वयनमा लैजान सकिनेछ ।’ यसको कार्यान्वयनमा लैजान सबैको साथ र सहयोगको खाँचो रहेको मुख्यमन्त्री राईले बताए ।

पहिलो चौमासिक सन्तोषजनक रहेको बताउँदे मुख्यमन्त्री राईले दोस्रो चौमासिकमा तीव्र गतिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । जेठ १५ गते भित्रमा बजेट खर्च गरिसक्ने गरी कर्मचारीलाई काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिए । ‘दोस्रो चौमासिक महŒवपूर्ण समय हो,’ उनले भने, ‘यो समयमा धेरै भन्दा धेरै काम गरिनु पर्दछ ।’

कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले काम गर्ने शैली तथा कार्यसम्पादनलाई फरक बनाएर जनताले अनुभूति हुने सेवा प्रवाह गरिनुपर्ने बताए । मुख्यमन्त्री राईले कृषि प्रणालीलाई बदलेर कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताए । उनले कृषिलाई औद्योगिकीकरण, औजारीकरण गरी व्यावसायिक बनाउन जरूरी रहेको बताए । कृषकको तत्काल समस्याको समाधान गर्न कृषिलाई पनि आइटीसँग जोड्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

कार्यक्रममा प्रदेश १ का मुख्य सचिव सुरेश अधिकारीले पहिलो चौमासिक खर्चमा कृषि उपकरण खरिदमा सन्तोषजनक देखिएको बताए । कृषिलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । मुख्य सचिव अधिकारीले कृषकलाई आवश्यक पर्ने मलखाद समयमा उपलब्ध गराउनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, कृषि विज्ञ पिताम्बर दाहाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का सचिव डा. विमल ‘निर्मल’ लागायतले कृषिलाई औद्योगिकरणतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिए । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ अन्तर्गतका कार्यालयले पहिलो चौमासिक प्रगति प्रस्तुत गरेका थिए ।