जिरोपोइण्ट/ झरना बचत तथा ऋण सहकारी संस्थाले ७३ दशमलव ३२ प्रतिशतले आयमा वृद्धि गर्दै ५२ लाख रुपैयाँभन्दा बढी मुनाफा गर्न सफल भएको छ ।

सहकारीको ९ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मानबहादुर मगरले प्रस्तुत गरेको प्रतिवेदनमा ५२ लाख ७७ हजार ७ सय ११ रुपैयाँ खुद मुनाफा गरेको उल्लेख छ । सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ४८ करोड ४४ लाख २६ हजार ८ सय ६७ रुपैयाँ ९६ पैसाको कारोबार गरेको छ । सहकारीले एक वर्षमा निक्षेप सङ्कलन मात्रै ३६ करोड २४ लाख ४० हजार १ सय १४ रुपैयाँ पुर्याएको छ । सहकारीको हाल शेयर पुँजी २ करोड ८२ लाख ४१ हजार ३ सय रुपैयाँ रहेको छ ।

सहकारीले साधारणसभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता, उत्कृष्ट आवधिक बचतकर्ता, खुत्रुके बचतकर्तालाई सम्मानित गरेको छ । त्यस्तै एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने संस्थामा आबद्ध शेयर सदस्यका तीनजना सन्तानलाई पुरस्कृत गरिएको छ । उनीहरूलाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिएको हो ।

सहकारीले युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार सङ्घका सुनसरी संयोजक राम लिम्बूलाई ‘शान्ति सम्मान’ बाट सम्मानित गरेको छ । नगदराशि २१ हजार १ सय १ रुपैयाँसहितले सम्मानित गरेको हो । संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीमध्ये बजार शाखाका धनवीर लिम्बूलाई ७ हजार रुपैयाँ र सम्मान–पत्रले पुरस्कृत गरिएको छ ।

संस्थाका पूर्व कर्मचारी मीना गौतम र उज्वल कार्कीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेसनलाई संस्थाले १ लाख ११ हजार रुपैयाँ सहयोगसमेत गरेको छ । उक्त रकम धुर्मुस– सुन्तली फाउण्डेसनका सचिव पुरुषोत्तम हुमागाईलाई सहकारीका अध्यक्ष मानबहादुर मगरले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका केन्द्रीय अध्यक्ष केबी उप्रेतीले सहकारी संस्थाले आफ्नो स्तरवृद्धि गर्नुपर्ने बताए । उनले हरेक एक व्यक्तिले एउटामात्रै सहकारीमा आबद्ध हुनुपर्ने समेत सुझाव दिए । कार्यक्रममा धरान उपमहानगर सहकारी विकास समितिका संयोजक एवम् धरान–१५ का वडाध्यक्ष नरेशकुमार इङ्वारम, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।